Mon. Dec 23rd, 2024

आज अध्यक्ष दाहालले बन्दसत्रमा उठेका प्रश्नको जवाफ दिनुहुने

काठमाण्डौं, २०७८ पुस १६ गते शुक्रबार । काठमाण्डौंमा चलिरहेको नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदामा समूहगत धारणा राख्ने क्रम हिँजो बिहीबार सकिएको छ ।

जारी बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य एवम् नेता देव गुरुङको विधान संशोधन मस्यौदामा समूहगत धारणा राख्ने क्रम सकिएको हो ।

दुवै प्रतिवेदनमाथि छलफल गर्न माओवादी केन्द्रले २५ वटा विभिन्न समूहहरू बनाएको थियो । बुधबारदेखि जारी समूहगत धारणा राख्ने क्रम बिहीबार सकिएको हो । समूहगत धारणापछि बन्दसत्रमा उठेका प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिनुहुनेछ ।

आाज १ बजेबाट सुरु हुने बन्दसत्रमा अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश भई सो प्रतिवेदनहरू पारित भएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको माओवादी केन्द्र प्रचार विभागका सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो ।

समूहगत धारणा राख्ने क्रम सकिएपछि बिहीबार पार्टीको स्थायी समिति बैठक पनि बसेको थियो । बैठकले बन्दसत्रमा उठेका केही महत्त्वपूर्ण सवालमा छलफल गरेको माओवादी केन्द्रले जनाएको छ ।

आजको बन्दसत्रमा अध्यक्ष प्रचण्डको जवाफपछि पारित भए माओवादी केन्द्रको बन्दसत्र साङ्गठनिक संरचना निर्माणमा केन्द्रित हुनेछ ।

Facebook Comments