Mon. Dec 23rd, 2024

‘तमु ल्होसार’ को अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा शुभकामना

काठमाण्डौं, २०७८ पुस १५ गते बिहीबार । तमु ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताउनुभएको छ ।

भण्डारीले आज शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

“मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ”, सन्देशमा भनिएको छ । राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

यसैगरी तमु ल्होसार पर्वको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले जारी गर्नुभएको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ ।

“नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ, विविधता भित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन्”, सन्देशमा भनिएको छ, “यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो ।”

प्रधानमन्त्री देउवाले सन्देशमा कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै पर्व हर्षोल्लाहपूर्वक मनाउन आग्रह गर्नुभएको ।

उहाँले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भनी कामना पनि गर्नुभएको छ ।

Facebook Comments