Thu. Dec 26th, 2024

वर्षासँगै काठमाण्डौ उपत्यकामा चिसो बढ्यो,  चन्द्रागिरि डाँडामा हिमपात, जनजीवन प्रभावित

काठमाण्डौं, २०७८ पुस १४ गते बुधबार । गएरातीदेखि काठमाण्डौ उपत्यकामा सुरु भएको वर्षा अहिले पनि जारी रहेको छ । केही दिनदेखि निरन्तर तापमान घटिरहेको भए पनि वर्षा सुरु भएसँगै चिसो ह्वात्तै बढेको छ ।

गए राती ११ वजेदेखि फाट्ट फुट्ट रुपमा सुरु भएको वर्षा विहान सबैरै भने दर्के पानीमा रुपान्तरण भएको हो । काठमाण्डौ उपत्यकाका बागमती, विष्णुमती, धेवी खोला, मनहरा, हनुमन्ते लगायतका सामान्य मात्रामा पानी बग्ने खोलाहरुमा पनि अहिले पानीको मात्रा बढेको छ ।

यसैबीच पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको छ । वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरमा हिमपात सुरु भएको हो । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिर क्षेत्र सेताम्य छ । त्यसैगरी काठमाण्डौ उपत्यकाका शिवपुरी, फूलचोकी लगायतका अग्ला डाँडाहरुमा पनि हिँउ परेको छ ।

वर्षा र चिसोका कारण उपत्यकामा मानिसहरुको आवत जावतमा पनि कमी आएको छ ।

Facebook Comments