Sun. May 12th, 2024

एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

काठमाण्डौं, २०७८ पुस १३ गते मंगलबार । साविक विजेता नेपालले एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि जितेको छ । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएर उपाधिको रक्षा गरेको हो ।

नेपालले उज्वेकिस्तानमाथि २६-२४, २४-२६, २५-१५, २२-२५, १५-११ को जित निकाल्यो । नेपाली महिला टोलीले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि सन् २०१९ मा बंगलादेशमै भएको प्रतियोगितामा नेपाल लिग चरणदेखि एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो ।

नेपालले लिग चरणमा लगातार पाँच जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । ६ देश सहभागि प्रतियोगिताको लिग चरणको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२, दोस्रो खेलमा माल्दिभ्सलाई ३-० र तेस्रो खेलमा आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको थियो ।

चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३-० र पाँचौँ खेलमा किर्गिस्तानलाई ३-० को सोझो सेटमा स्तब्ध बनाएको थियो । उज्वेकिस्तान भने लिग चरणमा दोस्रो बन्दै फाइनलमा पुगेको थियो ।

पुरुषतर्फ नेपालले आजै तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग नै प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तानगरी ६ देश सहभागि थिए । पुरुषतर्फ नेपालले लिग चरणमा दुई जित र दुई हार खेपेको थियो ।

Facebook Comments