Sat. May 18th, 2024

सोलुखुम्बूमा जलविद्युत् परीक्षणका क्रममा विस्फोट, दुईजना इन्जिनियरको मृत्यु

काठमाण्डौं, २०७८ पुस १२ गते सोमबार । सोलुखुम्बूमा जलविद्युत् परीक्षणका क्रममा विस्फोट हुँदा दुईजना इन्जिनियरको मृत्यु भएको छ । साहस ऊर्जाले प्रवद्र्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा आज पानी परीक्षणका क्रममा पाइप विस्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोलुखुम्बुमा निर्माणाधीन एक आयोजनाको पाइप परीक्षणमा क्रममा दुर्घटनामा परी दुई जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

मन्त्री भुसालले दुई युवा तथा प्रतिभाशाली प्राविधिकको असामयिक निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ । मन्त्री भुसालले उहाँहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजन, आफन्त तथा सहकर्मीमा समवेदना प्रकट गर्नुभएको छ ।

गोरखापत्र अनलाईनका अनुसार पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा उक्त दुर्घटना भएको हो । प्रवद्र्धक कम्पनीका अनुसार पाइपको ज्वाइनमा परीक्षण गर्न पानी पठाउँदा दुर्घटना भएको हो । आयोजनामा ६०० मिटरको उचाइबाट प्रतिसेकेन्ड १७ घनमिटर पानी तीव्र गतिले पेनस्टक पाइपमा खस्दा त्यसभित्रको चापका कारण विस्फोट भएको बताइन्छ । आयोजनामा प्रयोग गरिएका हाइड्रो-मेकानिकलतर्फको काममा यो दुर्घटनाले प्रश्न खडा गरेको छ ।

Facebook Comments