Sat. Sep 28th, 2024

भारतको अमृतसरमा सिख धर्मग्रन्थको “अपमान” गर्न खोजेको भन्दै कुटीकुटी एक जनाको हत्या

काठमाण्डौं, २०७८ पुस ४ गते आईतबार । भारतको अमृतसर सहरस्थित सिख धर्मावलम्बीको पवित्र स्थल स्वर्ण मन्दिरमा अपवित्र कार्य गरेको आशङ्कामा एक व्यक्तिको पिटीपिटी हत्या भएको प्रहरीले बताएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त घटना हिँजो शनिवार प्रार्थनाका बेला भएको हो। ती युवक स्वर्ण मन्दिरको गर्भगृहमा प्रवेश गरेको बताइएको छ। सिख मन्दिरको गर्भगृहमा पवित्र धर्मग्रन्थ “गुरु ग्रन्थ साहिब” राखिएको हुन्छ। गर्भगृहमा छिरेर ती व्यक्तिले गुरु ग्रन्थ साहिबसँगै राखिएको प्रार्थनाका बेला प्रयोग हुने तरबार छुने प्रयास गरेको बताइएको छ। त्यसै बेला त्यहाँ परिचालित सुरक्षाकर्मी र भक्तजन उनीमाथि जाइलागेका थिए। ती व्यक्तिमाथि स्थानीय समयानुसार साँझ पौने ६ बजेतिर आक्रमण भएको थियो।

साँझको प्रार्थनाका बेला भएकाले उक्त घटना टेलिभिजनमा पनि प्रसारित भइरहेको थियो। त्यसपछि के भयो भन्ने स्पष्ट छैन। प्रहरीले चाहिँ आफू घटनास्थलमा पुग्दा उक्त व्यक्ति मृत पाइएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ। मृतक २०-२५ वर्षको जस्तो देखिएको प्रहरीले जनाएको छ। उनको परिचय खुलिसकेको छैन।

एउटा ट्वीटमा पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीले “उक्त नृशंस कृत्यका पछाडिको उद्देश्य र वास्तविक षड्यन्त्रकारीहरूप्रति शून्य सहनशीलता अपनाउन” प्रहरीलाई आदेश दिएको लेख्नु भएको छ । बीबीसी

Facebook Comments