Mon. Dec 23rd, 2024

भारतीय रक्षा मन्त्री राजनाथ सिंह भन्नुहुन्छ, शिर झुकाउनु परे पनि नेपालसँग सम्बन्ध बिगार्दैनौं

काठमाण्डौं, २०७८ मंसिर २९ गते बुधबार । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले “केही तत्त्वहरूले नेपाल र भारत बीच सम्बन्ध बिगार्न चाहेको ” बताउनु भएको छ ।

उल्लेख्य मात्रामा नेपालीभाषीको समेत बसोबास रहेको भारतको उत्तराखण्ड राज्यमा हिजो मङ्गलवार भएको एक कार्यक्रममा बोल्दै उहाँले त्यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

तर उक्त कार्यक्रममा बोल्ने क्रममा उहाँले दुई देश बीचको सम्बन्ध बिगार्न चाहने तेस्रो पक्ष को हो भन्ने खुलाउनु भएन । कतिपय भारतीय नेताहरूले नेपाल र भारतबीचको सम्बन्ध बिगार्नका निम्ति चीनले भूमिका खेलेको बेलाबखत आरोप लगाउने गरेका छन्। सिंहले उक्त कार्यक्रममा बोलेको ३२ मिनेट ४६ सेकेन्डको भिडिओ आफ्नै ट्विटर खाताबाट सेअर गर्नुभएको छ ।

उक्त भिडिओमा उहाँले नेपालका सम्बन्धमा भन्नुभएको छ, “उत्तराखण्डको जहाँसम्म सवाल छ। नेपाल र तिब्बतको सीमा यससँग जोडिन्छ। नेपालको जहाँसम्म प्रश्न छ- नेपालसँग हाम्रो रोटी-बेटीको सम्बन्ध छ। नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ। तर म यो जानकारी तपाईँलाई दिन चाहन्छु-केही तत्त्वहरू यस्ता छन्, जसले नेपाल र भारतको सम्बन्ध खराब गर्न चाहन्छन्।”

तर उहाँले भारतले नेपालसँगको सम्बन्ध कहिल्यै बिगार्न नचाहने आश्वस्त पार्न खोज्नु भएको छ ।

सिंहले भन्नुभयो, “तर म सरकारको प्रतिनिधि भएको हिसाबले के भन्न चाहन्छु भने चाहे जसुकै होस्, हामीलाई शिर झुकाएर रहनु किन नपरोस् तर हाम्रो छिमेकी नेपालसँग हाम्रो सम्बन्ध टुट्न दिँदैनौँ। हाम्रो नेपालसँगको सम्बन्ध कहिल्यै बिग्रन दिँदैनौँ।” बीबीसी

Facebook Comments