Wed. May 8th, 2024

राष्ट्रपति भण्डारीबाट जुम्लामा एमबिबिएस पढाइको शुभारम्भ

काठमाण्डौं, २०७८ मंसिर २६ गते आईतबार । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सञ्चालन हुन गइरहेको एमबिबिएस पढाइको शुभारम्भ गर्नुभएको छ ।

प्रतिष्ठानमा आज आयोजित विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले एमबिबिएस लगायत बि फर्मा, बिएनएस, एमबिबिएस, बीपीएच लगायतका शैक्षिक कार्यक्रमको ताम्र पत्र अनावरण गर्दै शैक्षिक कार्यक्रमहरूको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

आजै उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ७६ करोड लागतमा निर्माण भइरहेको शैक्षिक तथा प्रशासनिक भवनको पनि शिलान्यास गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ग्रामीण  क्षेत्रको स्वास्थ्य शिक्षा र अनुसन्धानमा कर्णाली प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।

उहाँले, रोग र भोकको उपनाम पाएको कर्णालीले स्वास्थ्य क्षेत्रमा फड्को मारेको भन्दै देशलाई दक्ष जनशक्ति दिने सामर्थ्यको विकास भएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति भण्डारीले विशेषज्ञ सेवासहितको उपचार र अनुसन्धान  सुरु भएकोले अब जटिल रोगको उपचार जुम्लामै सम्भव भएको बताउनुभयो ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले रोग र भोकले ग्रसित कर्णालीमा पछिल्लो समय स्वास्थ्य सेवाका हिसाबले कर्णाली प्रतिष्ठान देशकै भरोसाका रुपमा स्थापित भएको उल्लेख गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले बिरामीलाई महँगो खर्चमा जहाज चार्टर गरेर सुर्खेत, नेपालगन्ज र काठमाडौँ पुर्‍याउनु पर्ने बाध्यताको कर्णाली प्रतिष्ठानले अन्त्य गरेको बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले कुनै बेला शवको पोष्र्टमार्टम गर्न गर्न तथा सामान्य उपचारका लागि डाक्टर खोज्नुपर्ने कर्णालीवासीले अब डाक्टर रोजी रोजी उपचार गराउन पाउने बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठान स्थापनाका पहलकर्ता र जग्गादाता सबैलाई सम्मान गरिएको थियो ।

 चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबिबिएसका लागि २० वटा कोटा छुटाइएकोमा १९ जना भर्ना भएका छन् भने बि फर्मामा २० कोटा निर्धारण भएकोमा ११ जना, बिएनएस तर्फ १६ जना, एमबिबिएस तर्फ ८ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् । रेडियो नेपाल

Facebook Comments