Fri. May 17th, 2024

राप्रपा निर्वाचनमा पदाधिकारीतर्फ कमल थापा पक्षको बर्चश्व, थापा आफै भने पराजित

काठमाण्डौं, २०७८ मंसिर १९ गते आईतबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिको निर्वाचनमा पदाधिकारीतर्फ कमल थापा पक्षले बर्चश्व कायम गरेको छ । तर अध्यक्ष पदमा भने थापा राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएको छ ।

निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको छ ।

राप्रपाका चार उपाध्यक्षमध्ये तीन उपाध्यक्ष थापा पक्षका विजयी भएका छन् । यसैगरी तीन महामन्त्रीमा दुई जना थापा पक्षका उम्मेदवार विजयी भए ।

खुला उपाध्यक्ष पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान र महिला उपाध्यक्षमा रोशन कार्की विजयी हुनुभएको छ । तामाङ र प्रधान थापा पक्षका हुनुहुन्छ । खुला उपाध्यक्ष पदमा सर्वाधिक मत पाएर विजयी हुनुभएका विक्रम पाण्डे भने थापा र लिङ्देन दुवै पक्षबाट स्वीकार्य उम्मेदवार हुनुहुन्थ्यो। महिला उपाध्यक्ष कार्की पनि थापा पक्षबाटै चुनाव लड्नुु भएको थियो ।

खुला महामन्त्रीमा डा। धवल शम्सेर राणा र भुवन कुमार पाठक विजयी हुनुभएको छ । राणा लिङ्देन पक्षका र पाठक थापा पक्षका हुनुहुन्छ ।

महिला महामन्त्रीमा विजयी कुन्ती शाही पनि थापा पक्षकै हुनुहुन्छ । महिला महामन्त्रीमा लिङ्देन पक्षबाट सिनेकर्मी रेखा थापा उम्मेदवार हुनुभएको थियो ।

Facebook Comments