Sun. May 19th, 2024

राप्रपाको अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी, उपाध्यक्षमा आठजना र महामन्त्रीमा छ जनाको उम्मेदवारी दर्ता

काठमाण्डौं, २०७८ मंसिर १७ गते शुक्रबार । काठमाण्डौमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राप्रपा निर्वाचन समितिले तोकेको समय सीमामा अध्यक्ष पदका लागि थापा र लिङदेनको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता राजु बस्नेतले जानकारी दिनुभएको छ । महाधिवेशनमा उपाध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

राप्रपा निर्वाचन समितिका सदस्य राजु बस्नेतका अनुसार उपाध्यक्ष पदका लागि जगतप्रसाद गौचन, रामचन्द्र राय, लीलादेवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी श्रेष्ठ गरी जम्मा आठ जनाले मनोनयन दर्ता गराउनुभएको हो । राप्रपामा एक महिलासहित चार उपाध्यक्ष पदका लागि उम्मेदवारबीचमा प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी राप्रपा महामन्त्रीमा छ जनाले मनोनयन दर्ता गराउनुभएको छ । महामन्त्रीका लागि रेखा थापा, डा. धवल शमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक, भाष्कर भद्रा र कुन्ती शाहीले मनोनयन दर्ता गराउनुभएको हो । राप्रपा महामन्त्रीमा भने एक महिलासहित तीनजना निर्वाचित हुनेछन् । राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको छुट्टा-छुट्टै प्यानलसहित यी पदाधिकारीबीच प्रतिस्पर्धा हुनेछ ।

अध्यक्ष पदका लागि मतपत्रबाट मतदान हुने भए पनि चार उपाध्यक्ष, तीन महामन्त्री र एक सय ४९ सदस्यका लागि भने विद्युतीय मेसिनको प्रयोग हुने राप्रपा निर्वाचन समितिले जानकारी दिएको छ ।

राप्रपा केन्द्रीय सदस्यका लागि दुई सय ६४ जनाको उम्मेदवारी छ । महाधिवेशनका लागि सय वटा विद्युतीय मेसिन तयार अवस्थामा छन् । मतदानका लागि ९१ वटा मेसिन प्रयोग हुनेछ भने चार वटा मेसिन अभ्यासका लागि राखिएको छ । प्राविधिक समस्यालाई दृष्टिगत गर्दै बाँकी रहेका पाँच वटा मेसिन स्टकमा राखिएको छ ।

साँझ ५ बजेपछि उम्मेदवारीको नामावली प्रकाशन हुने बस्नेतले बताउनुभयो । राप्रपा महाधिवेशनबाट निर्वाचित हुने एक सय ९९ केन्द्रीय कार्यसमितिमध्ये ५० जना सदस्य नवनिर्वाचित अध्यक्षबाट मनोनीत हुनेछन् ।

Facebook Comments