Thu. Dec 26th, 2024

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको महाधिवेशन आज, कमल थापा र राजेन्द्रप्रसाद लिङ्देनबीच कडा प्रतिष्पर्धा हुने

काठमाण्डौं, २०७८ मंसिर १५ गते बुधबार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । विभिन्न कालखण्डमा तीनवटा अस्तित्वमा रहेका राप्रपा एक भएसंँगै यो एकता महाधिवेशन हुन लागेको हो ।

काठमाण्डौंमा तीन दिनसम्म हुने यस महाधिवेशनले १ सय ४७ जनाको कार्य समिति चयन गर्नेछ । काठमाण्डौको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको महाधिवेशन प्रचार समिति संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुने जानकारी पनि दिनुभयो । कुल १ सय ९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात् अध्यक्षसहित १ सय ४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनीत गर्नेछ ।

महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन उम्मेदवार हुनुहुन्छ । दुई नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तीन जना अध्यक्षमध्ये डा. प्रकाशचन्द्र लोहनीले मङ्गलबार औपचारिक रूपमा लिङ्देनलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ ।

राणा अहिलेसम्म कुनै पक्षसंँग नखुले पनि समर्थन पाउने आशा लिङ्देन पक्षले गरेको छ । बुधबार राजधानीमा भएको एक कार्यक्रममा डा. लोहनीले पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने भन्दै लिङ्देनको खुलेर समर्थन गर्नुभएको छ । लोहनीले थापा र राणालाई समेत पार्टीमा अभिभावक बनेर लिङ्देनलाई सर्मथन गर्न आग्रह गर्नुभएको छ ।

लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, डा. धवलशमशेर राणा, टङ्क ढकाल, राजेन्द्र गुरुङ, गोविन्दबहादुर शाह, सविन लावती, दीप शाही, हेमजङ्ग गुरुङलगायत नेताका साथ रहेको छ ।अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ ।

Facebook Comments