Sun. May 19th, 2024

अफगानिस्तान भोकमरीका कारण ‘पृथ्वीको नर्क’ बन्ने डर

काठमाण्डौं, २०७८ कात्तिक २२ गते सोमबार । शरद ॠतुको न्यायोपन हटेर बिस्तारै ठिहिर्‍याउने जाडो बढेसंगै अफगानिस्तानका केही स्थानमा खडेरी परेको विवरणहरू आएका छन् जसले सम्भावित विपद्लाई झन् नराम्रो बनाउने डर पैदा गरेको छ।

राजधानी काबुलभन्दा ५० माइलको दूरीमा रहेको मैदान वार्दाकका सयौँ मानिसहरू पिठो पाउने आशामा बसेका छन्। त्यहाँ विश्व खाद्य कार्यक्रमले पिठो बाँड्छ। तालिबान सैनिकले भिडलाई शान्त राखेका छन्। तर जो व्यक्तिलाई पिठो पाउन अयोग्य भनिएको छ उनीहरूमा आक्रोश र त्रासको भाव छ। “हिउँद आइसक्यो,” एक वृद्धले भने। “मैले रोटी बनाएर राख्न सकिनँ भने हिउँद कसरी कटाउने थाहा छैन।”

दुई करोड २० लाख मानिसलाई सहयोग गर्न विश्व खाद्य कार्यक्रमलाई अफगानिस्तानमा खाद्य आपूर्ति बढाउनु पर्ने दबाव छ। यो हिउँद विज्ञहरूले अनुमान गरे जस्तो नराम्रो भयो भने तीमध्ये धेरै जना नराम्रो भोकमरीको चपेटामा पर्ने आकलन गरिएको छ।

आइतवार काबुल आएका विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिज्लीको विश्लेषणमा अवस्था निकै जोखिमपूर्ण छ। “तपाईँले अनुमान गर्न सक्ने जति नराम्रो अवस्था छ,” बीस्ली भन्नुहुन्छ । “हामी पृथ्वीमै सबैभन्दा खराव मानवीय सङ्कट खेप्न गइरहेका छौँ।” “पन्चानब्बे प्रतिशत मानिससँग यथेष्ट खाद्यान्न छैन। अनि अब हामी दुई करोड ३० लाख मानिस भोकमरीको प्रकोपमा पर्न गइरहेको देख्दै छौँ।” “आगामी छ महिना विपत्तिपूर्ण हुनेछ। यो पृथ्वीको नर्क हुनेछ।”

अगस्टमा तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिनुअघि असरफ गनीको सरकारले विदेशी सहायताका कारण खराब हिउँदको विपद्को सामना गर्न सक्ने मानिएको थियो। तर यो अपेक्षा उहाँको सरकारको पतनसँगै हराएको छ।

महिलालाई शिक्षाबाट वञ्चित गर्ने र शरिया कानुनलाई लागु गर्ने पक्षमा रहेको सरकारलाई सहयोग गरेको नदेखिन पश्चिमा देशहरूले अफगानिस्तानलाई गर्ने सहयोग बन्द गरेका छन्। बीबीसी

Facebook Comments