Sun. May 19th, 2024

तराई-मधेसमा छठ पर्वको तयारी तिब्र, बुधबार सार्वजनिक बिदा

काठमाण्डौं, २०७८ कात्तिक २२ गते सोमबार । दशैं र तिहार जस्ता ठूला चाड सकिए लगत्तै तराई-मधेसमा छठ पर्वको तयारी सुरु भएको छ । भगवान सूर्यदेवको उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिएका छन् । त्यसैगरी विराटनगर, भद्रपुर, सुनसरीको इनरुवा, सप्तरी, सिराहा, धनुषा, सर्लाही, बारा, पर्साको वीरगञ्ज हुँदै नेपालगञ्ज, महेन्द्रनगरसम्मका तराई-मधेसका जिल्लाहरु, विभिन्न शहर, बजार, नदी तथा खोलाका किनाराहरु धमाधम सरसफाई गरेर सजिसजाउ पार्न थालिएको छ । छठ पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय-खाय’ विधिबाट गर्दैछन् ।

कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा-अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन् । निरामिष (साविक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रत विधि सुरु हुने पर्व परम्परा छ ।

छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । कोरोना सङ्क्रमण अलि मत्थर भएपछि यसपालि धक खोलेर पर्व मनाउन पाइएको व्रतालुको भनाइ छ । गत वर्ष कोरोना सन्त्रासले घरआँगनमै छठ मनाउनुपरेको सम्झना गर्दै यसपालि भने महाव्याधि कम भएपछि पर्व मनाउन सहज भएको व्रतालु बताउँछन् ।

छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला/पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेका देखिन्छ ।

पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनितो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय-खाय’ भन्ने गरिएको छ । पर्वले घरघरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित भएको देखिन्छ ।

छठपर्वकै तयारी स्वरुप काठमाडौंको पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वागमती किनारमा आकर्षकरूपमा छठ घाट निर्माण सुरु भएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सचिव नवलकिशोर यादवले जानकारी दिनुभयो ।

यत्तिवेला सो क्षेत्रमा तयारीका लागि सरसफाइ, माटो सम्याउनेलगायतका काम पनि भइरहेको छ । यसैगरी कमलपोखरी, नागपोखरीलगायतका स्थानमा पनि छठ मनाउन छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अध्र्य दिएर छठ पर्व निष्ठा एवम् भक्तिका साथ मनाइन्छ । यस वर्ष कात्तिक २४ गते बुधबार छठ पर्वको मुख्य दिन परेको छ ।

छठ पर्वका अवसरमा कात्तिक २४ गते बुधबार सार्वजनिक बिदा दिइएको छ ।

Facebook Comments