Sat. Sep 21st, 2024

प्रेदश एकका मुख्यमन्त्री भिम आचार्यद्वारा राजीनामा

काठमाण्डौं, २०७८ कात्तिक १५ गते सोमबार । प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुभएका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (सोमबार) दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाउनु भएको छ ।

राजीनामा दिनुभएका आचार्यले प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिएको बताउनुभयो ।

एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेसँगै भदौ १० गते प्रदेश १ का मुख्यमन्त्री बन्नु भएका भीम आचार्य भदौ २५ गते अल्पमतमा पर्नुभएको थियो ।

अल्पमतमा परेपछि आचार्यले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभएको थियो ।

यस्तै, प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्यासीले मंगलबार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलले दिएको जानकारी अनुसार आचार्यको राजीनामा स्वीकृत गरे लगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

Facebook Comments