Fri. May 17th, 2024

‘उड्ने मोटरसाइकल’, को मूल्य आठ करोड रुपैयाँभन्दा बढी

काठमाण्डौं, २०७८ कात्तिक ११ गते बिहीबार । जापानमा एउटा ‘स्टार्टअप कम्पनी’ ले होभरबाइक भनिने आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ। त्यसको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ।

निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ। होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटिड इडिशन’ बुधवारदेखि जापानी बजारमा उपलब्ध भएको हो।

इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता हुनुहुन्छ । एकचोटि चार्ज गरेपछि यो होभरबाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलजीजले जनाएको छ।

आगामी वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने ३०० केजी तौल भएका २०० वटा होभरबाइक उत्पादन गर्ने निर्माता कम्पनीको लक्ष्य छ। प्रत्येक होभरबाइकमा एउटा परम्परागत इन्जिन र ब्यटरीजडित चारवटा मोटरहरू छन्।

“अहिलेसम्म जमिनमा र आकाशमा यात्रा गर्न सिमित विकल्प मात्र थियो,” एएलआई टेक्नोलजीजका प्रमुख कार्यकारी दाइसुके कातानोले भन्नुभयो ।

“अब हामी यात्राका लागि एउटा नयाँ विधि दिन चाहन्छौँ।” बीबीसी

Facebook Comments