Fri. May 17th, 2024

कोरोना भाइरसको डेल्टा ‘प्लस’ भेरिअन्ट झन् सङ्क्रामक हुनसक्छ

काठमाण्डौं, २०७८ कात्तिक ६ गते शनिबार । कतिपयले डेल्टा ‘प्लस’ भनिरहेको कोरोनाभाइरसको नयाँ उत्परिवर्तित स्वरूप डेल्टा भेरिअन्टभन्दा झन् सहज रूपमा फैलिन सक्ने यूकेका विशेषज्ञहरूले बताएका छन्।

यूकेको हेल्थ सिक्यूरिटी एजेन्सी (यूकेएचएसए)ले उक्त नयाँ प्रकारको कोरोनाभाइरसलाई “अनुसन्धानको क्रममा रहेको भेरिअन्ट”का रूपमा वर्गीकरण गरेको छ।

यसले गम्भीर रूपमा बिरामी पार्न सक्ने विषयबारे प्रमाण भने फेला परेको छैन।

अनि हाल उपलब्ध रहेका खोपहरूले मानिसहरूलाई जोगाउन सक्ने विषयमा वैज्ञानिकहरू विश्वस्त छन्।

यूकेमा देखिएका कोरोनाभाइरस सङ्क्रमणमा डेल्टा भेरिअन्ट नै बढी पाइएको भए पनि “डेल्टा प्लस” वा AY.4.2 बाट सङ्क्रमित भएका मानिसहरू फेला पर्ने क्रम बढिरहेको छ।

पछिल्लो आधिकारिक तथ्याङ्कका अनुसार ६ प्रतिशत कोभिड डेल्टा प्लस कोरोनाभाइरसले गराएको छ।

विज्ञहरूले यो व्यापक रूपमा फैलिन वा यसले अहिले उपलब्ध खोपहरूलाई छल्न सक्ने सम्भावना नरहेको जनाएका छन्।

यद्यपि अधिकारीहरूले यूकेमा डेल्टा भेरिअन्टको तुलनामा सङ्क्रमणको यो नयाँ प्रकार बढ्ने दर बढी हुनसक्ने केही प्रारम्भिक प्रमाण रहेको जनाएका छन्।

तर डेल्टा भेरिअन्टजस्तो यसलाई जोखिमको तहका हिसाबले सबैभन्दा खतरनाक ”भेरिअन्ट अफ कन्सर्न” का रूपमा भने वर्गीकरण गरिएको छैन।

विश्वमा कोरोनाभाइरसका हजारौँ भेरिअन्टहरू फैलिरहेका छन्। भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरिअन्ट देखा पर्नु आश्चर्यजनक विषय होइन।

अमेरिकामा पनि डेल्टा प्लस भेरिअन्टका कारण भएका सङ्क्रमणहरूको पहिचान भएको छ। डेन्मार्कमा पनि यो भेरिअन्ट देखिएको छ तर त्यहाँ भने यो फेला पर्ने क्रम घट्दै गएको छ।

यूकेमा उच्च जोखिममा भएका मानिसहरूको रक्षा गर्नका लागि कोभिड-१९ विरुद्ध खोपको बूस्टर अर्थात् अतिरिक्त मात्रा जाडो याम सुरु हुनअगावै दिइँदैछ।

अहिले विद्यमान भाइरसका विभिन्न भेरिअन्टबाट जोगिनका लागि उपलब्ध खोपहरूलाई परिमार्जन गर्नुपर्ने आवश्यकताबारे विज्ञहरूले केही भनेका छैनन्। बीबीसी

Facebook Comments