Mon. Nov 11th, 2024

भारतद्वारा जयनगर-कुर्था रेलखण्ड नेपाललाई हस्तान्तरण

हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव उपस्थित हुनुहुन्थ्यो ।

काठमाण्डौं, २०७८ कात्तिक ५ गते शुक्रबार । भारतले जयनगर-कुर्था रेलखण्ड नेपाललाई हस्तान्तरण गरेको छ । शुक्रवार नेपालको धनुषा कुर्थादेखि भारतको जयनगरसम्म चल्ने झण्डै ३५ किलोमिटर रेलखण्ड भारतले नेपाललाई हस्तान्तरण गरेको हो। यससँगै एक वर्षदेखि जनकपुर आइपुगेर थन्किएको रेल शीघ्र सञ्चालनको लागि थप एउटा अवरोध हटेको रेल विभागका प्रवक्ताले बताएका छन्।

नेपालले किनेर पनि एक वर्षभन्दा बढी समयदेखि रेल सञ्चालन गर्न नसकिरहँदा अन्तर्देशिय उक्त रेलखण्ड नेपालको स्वामित्वमा आएको हो।

आज भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म निर्माणाधीन ६९ किलोमिटर रेलमार्गको एउटा खण्ड हस्तान्तरण गरिएको हो।

उक्त पूरा खण्डका लागि भारत सरकारको ८.७७ अर्ब रूपैयाँ अनुदान प्रतिबद्धता जनाएको छ। यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज मार्गका रूपमा रहेकामा ब्रोड गजमा रूपान्तरण गरेर नेपाललाई हस्तान्तरण गरिएको काठमाण्डूस्थित भारतीय दूतावासले एक विज्ञप्तिमार्फत् जनाएको छ।

सञ्चालनमा आउँदा त्यो नेपाल-भारतबीचको पहिलो ब्रोडगज सीमापार रेलमार्ग हुनेछ। काठमाण्डूस्थित भारतीय दूतावासले आफ्नो ट्विटमा भनेको छ, “ऐतिहासिक शहर जनकपुर हुँदै जाने यस रेलमार्गले भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनेछ।” बीबीसी

Facebook Comments