Sun. Apr 28th, 2024

साफ फाइनलमा पहिलो पटक नेपाल, अब केही मिनेटपछि भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाण्डौं, २०७८ असोज ३० गते शनिबार । माल्दिभ्सको राजधानी मालेमा भइरहेको दक्षिण एसियाली साफ फुटबल प्रतियोगिताको फाइनल खेल नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । साफ फुटबल प्रतियोगितामा पहिलो पटक नेपाल फाइनल खेल्दैछ ।

अब केही मिनेटपछि नेपाली समय अनुसार राति पौने ९ बजे शीर्ष दुई टोली भारत र नेपाल फाइलनको लागि छानिएका हुन् । फिफा फुटबल वरियतामा भारत १०५ स्थानमा छ भने नेपाल १७१ स्थानमा छ । भारतले साफ फुटबल प्रतियोगिता सातौं पटक जितिसकेको छ ।

नेपालले भारतसँग अहिलेसम्म २२ वटा खेलहरूमा प्रतिस्पर्धा गरिसकेको छ । १५ खेलमा हार, पाँचमा बराबरी खेलेको नेपालले भारतसँग दुईवटा खेलमा मात्र विजयी भएको इतिहास छ ।

बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३-१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । भारतले चार खेलबाट आठ अंकसहित पहिलो र नेपालले सात अंकसहित दोश्रो भएर फाइनलमा प्रवेश पाएको हो ।

पहिलो दुई खेलमा बंगलादेश र श्रीलंकासँग समान एक एक अंक बाँडेको भारतले नेपाललाई एक गोल गरेर तीन अंक जोडेको थियो । अन्तिम खेलमा माल्दिभ्सलाई हराउँदै तीन अंकसहित आठ अंक प्राप्त गर्न सफल भएको हो ।

नेपालले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई उसैको घरेलु मैदानमा एक गोल गरेर तीन अंक र अर्को खेलमा श्रीलंकालाई दुईका विरुद्ध तीन गोल गरेर छ अंक जोडेको थियो । भारतसँग भएको तेश्रो खेलमा एक गोल खाँदै अंक विहीन हुन पुगेको थियो ।

बुधबार भएको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दै फाइनल प्रवेश गरेको हो । तर नेपाल बंगलादेशसँग भएको चौथौं खेलमा पहिलो हाफमै गोल खाएपछि दबाबमा परेको थियो । दोश्रो हाफमा खेलको ७६ औं मिनेटमा बंगलादेशी गोलकिपरलाई राता कार्ड दिएपछि १० जनामा सिमित बंगलादेश दबाबमा रहेको थियो । अन्ततः खेलको ८७ औं मिनेटमा पाएको पेनाल्टीमा नेपालले गोल गर्दै बराबरी गरेको थियो । खेल बराबरीसँग नेपालको समूह चरणमा सात अकंसहित फाइनलमा प्रवेश पाएको हो ।

यस प्रतियोगितामा पाकिस्तान र भूटानले भाग नलिएपछि राउन रोबिन्सको आधारमा खेल खेलाइएको हो । गोरखापत्र अनलाईन

Facebook Comments