Sat. May 18th, 2024

‘डच राजगद्दीको उत्तराधिकारीले समलिङ्गी विवाह गर्न पाउने’

आफ्ना बुवा एवम् वर्तमान डच राजासँग युवराज्ञी अमालिआ

काठमाण्डौं, २०७८ असोज २७ गते बुधबार । द नेदरल्यान्ड्समा सन् २००१ देखि नै समलिङ्गी विवाह वैधानिक छ, तर राजगद्दीका उत्तराधिकारीमा त्यो लागु नहोला कि भन्ने अनुमान थियो।

अहिले आएर कामचलाउ प्रधानमन्त्री मार्क रुटले भावी राजा वा रानीले पनि समलिङ्गी बिहे गर्न सक्ने स्पष्ट पार्नुभएको छ । डच राजगद्दीकी वर्तमान उत्तराधिकारी युवराज्ञी अमालिआ डिसेम्बर महिनामा १८ वर्षकी हुनुहुनेछ ।

संसद्‌मा आफ्नै दलबाट सोधिएको प्रश्नको लिखित जबाफ पठाउँदै उहाँले भन्नु भएको छ, “उत्तराधिकारी अथवा राजाले समलिङ्गी बिहे गर्न चाहेमा राजगद्दी त्याग्नुपर्ने कारण मन्त्रिपरिषद्‌ले देख्दैन।” युवराज्ञी अमालिआको भविष्यलाई लिएर अहिले निकै ध्यान दिने गरिएको पाइन्छ।

उहाँले समलिङ्गी बिहे गरेमा के हुन्छ भन्नेबारे एउटा किताबमा चर्चा गरिएको छ। हुन त त्यो किताबमा उहाँको निजी जीवनबारे कुनै लख काटिएको छैन र कसैसँग उहाँको बिहे हुन लागेको छ भन्नेबारे कुनै सङ्केत गरिएको छैन।

आगामी वर्षदेखि अमालिआ विश्वविद्यालयमा भर्ना हुनुहुनेछ र विद्यार्थी भएसम्म उहाँलाई युवराज्ञीले पाउने रकम सुविधा दिन अस्वीकार गरिएको छ।

समलिङ्गी बिहे गरेका राजा वा रानीले धर्मपुत्रपुत्री पालेमा अथवा दाताबाट शुक्रकीट वा अण्डा लिएर बच्चा जन्माएको खण्डमा चाहिँ उत्तराधिकारीबारे के हुन्छ भन्नेबारे स्पष्ट छैन। “ूत्यो विषय एकदमै जटिल छ, “रुटले भन्नुभएको छ ।

“वैध सन्तान” मात्रै राजा वा रानीको उत्तराधिकारी हुन पाउने डच संविधानमा उल्लेख छ। कामचलाउ प्रधानमन्त्री रुटले वर्तमान अवस्थामा समलिङ्गी बिहेको विषय “पूर्णतः सैद्धान्तिक” भएको र शाही बिहे संसद्‌ले अनुमोदन गर्नुपर्ने विषय भएको बताउनु भएको छ । बीबीसी

Facebook Comments