Fri. Sep 20th, 2024

आज महाअष्टमी पर्व बलिसहित कालरात्रिको पूजा गरि मनाईंदै

काठमाण्डौं, २०७८ असोज २७ गते बुधबार । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् ।  बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा-आराधना गरिन्छ ।

आजको दिन शास्त्रसम्मत रुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।

आजैको राति कालरात्रि पशुबलिको विधि र पूजा-आराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण नगण्यमात्रामा बलिसहितको पूजा हुनेछ ।

यसै गरी उपत्यकाबाहिरका नुवाकोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्छ ।

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परानुसार काँक्रो, घिरौंला, कुभिन्डो, मुला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् ।

Facebook Comments