Sat. May 18th, 2024

अफगानिस्तानलाई मानवीय सहायता दिन अमेरिका सहमत: तालिबान

काठमाण्डौं, २०७८ असोज २५ गते सोमबार । अफगानिस्तानलाई मानवीय सहायता दिन अमेरिका सहमत भएको तालिबानले बताएको छ । अमेरिकाले अफगानिस्तान छोडेयता भएको पहिलो वार्ताको समापनपछि तालिबानले सो जानकारी दिएको हो। सो वार्ता कतारमा भएको थियो।

सहायताबाहेक अमेरिकी नागरिकको सुरक्षित बहिर्गमन र चरमपन्थी समूहहरूको नियन्त्रणका विषयमा पनि वार्तामा छलफल भएको बताइएको छ।

अमेरिकी अधिकारीहरूले छलफल खुला र व्यावसायिक भएको बताउँदै तालिबानलाई कार्यान्वयनको आधारमा मूल्याङ्कन गर्ने बताएका छन्।

अमेरिकाले सो भेटघाटले तालिबानलाई मान्यता दिएको अर्थ नराख्ने बताएको छ।

आइतवार राति जारी विज्ञप्तिमा तालिबानले भनेको छ: “अमेरिकी प्रतिनिधिहरूले अफगानलाई मानवीय सहायता दिने र अन्य सङ्घसंस्थालाई त्यस्तो सहयोग दिन सहयोग गर्ने बताएका छन्।”

विज्ञप्तिमा तालिबानले “पारदर्शी रूपमा मानवीय सहयोग दिने परोपकारी समूहहरूसँग समन्वय गर्ने र विदेशी नागरिकको अनुशासित यात्रालाई सहयोग गर्ने” बताएको छ।

यद्यपि अमेरिकाले सहायताको कुरालाई औपचारिक रूपमा पुष्टि गरेको छैन। बीबीसी

Facebook Comments