Fri. May 17th, 2024

कपिलवस्तुमा झाडापखालाका बिरामी बढे, दूषित पानी प्रमुख कारण

काठमाण्डौं, २०७८ असोज २१ गते बिहीबार । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगन्जस्थित शिवराज अस्पताल परिसरको प्रतीक्षालयमा बिरामीका लागि बेड हालिएको छ । बाँसका लौरालाई स्लाइन झुन्ड्याउन स्ट्यान्डका रूपमा प्रयोग गरिएको छ । नरिवलको डोरीमा लहरै ५र७ वटा स्लाइनका बोतल झुन्ड्याइएका छन् । खुला आकाशमुनि लस्करै छन्, झाडापखालाका बिरामी । आँप र पीपलको रूखमुनि ३५ जनाभन्दा बढी बिरामीको उपचार चलिरहेको छ ।

नगरका तीन वडाका ६ गाउँमा सोमबारदेखि फैलिएको झाडापखालाबाट बुधबारसम्म ३ सय ५ जना बिरामी उपचारका लागि अस्पताल आएका थिए ।

बहादुरगन्जकै १० निजी क्लिनिकमा एक सयभन्दा बढीले उपचार गराइरहेका छन् । सिकिस्त नभएका बिरामी घरमै उपचार गराइरहेका छन् । त्यस्ताको संख्या पनि २ सयभन्दा बढी रहेको स्वास्थ्यकर्मीले बताए । अहिले शिवराज अस्पतालमा मात्रै १ सय ६५ जनाको उपचार भइरहेको छ । ३५ जनालाई जिल्ला अस्पताल र प्रादेशिक अस्पताल रिफर गरिएको छ । बुधबार बेलुका ५ बजेसम्म १ सय ५ जना बिरामी डिस्चार्ज भएका छन् ।

क्षमताभन्दा २० गुणा बढी बिरामी एक्कासि आएपछि अस्पताल अहिले अस्तव्यस्त बनेको छ । जता हेर्‍यो उतै बिरामी छन् । बरन्डा, इमर्जेन्सी, ड्रेसिङ रुम र गल्ली कहीं खाली छैन । १५ बेड क्षमताको अस्पतालमा बिरामीको भीड छ । एउटा बेडमा ३ जनासम्म राखेर उपचार भइरहेको छ । कान्तिपुर अनलाईन

Facebook Comments