Thu. May 2nd, 2024

फेसबुकले बालबालिकालाई हानी पुर्‍याउछ र प्रजातन्त्रलाई कमजोर पार्छ

काठमाण्डौं, २०७८ असोज २० गते बुधबार । फेसबुकका एक पूर्वकर्मचारी फ्रान्सिस हाउगनले उक्त प्रविधि कम्पनीका वेबसाइट र एपहरूले “बालबालिकालाई हानी पुर्‍याउने, विभाजनहरूलाई बढाउने र प्रजातन्त्रलाई कमजोर बनाउने” अमेरिकी विधायकहरूसँग बताउनु भएको छ ।

उहाँले त्यसबारे जान्दाजान्दै पनि कम्पनीका वरिष्ठ कर्मचारीहरूले मुनाफालाई प्राथमिकतामा राखेको बताउनु भयो । फेसबुकमा प्रडक्ट म्यानेजरका रूपमा काम गर्नुभएकी ३७ वर्षीया फ्रान्सिस हाउगनले सो कम्पनीका गोप्य कुराहरू चुहाउनु भएको हो ।

र, उहाँले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत त्यस विषयमै आलोचनात्मक बयान दिनुभयो । फेसबुकले भने श्रीमती हाउगनले आफ्नो ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै आफ्ना सुरक्षाको अवस्थाको बचाउ गरेको छ। तर उसले एक विज्ञप्तिमार्फत् अब इन्टरनेटमा परिष्कृत नियमहरू ल्याउने समय आएको स्वीकारेको छ।

मङ्गलवारको सुनुवाइका बेला रिपब्लिकन र डेमोक्र्याट सांसद्हरू उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको भन्ने विषयमा दुर्लभ रूपमा एकै ठाउँमा देखिएका थिए।

उक्त विशाल प्रविधि कम्पनीमाथि छानबिन र नियमनको बढ्दो माग भइरहेका बेला यी अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन्। २.७ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो। करोडौँ प्रयोगकर्ता सोही कम्पनीकै ह्वाट्सएप र इन्स्टाग्रामजस्ता अन्य उत्पादन चलाउँछन्। बीबीसी

Facebook Comments