Fri. May 17th, 2024

प्रहरी र सशस्त्रको रासन १५ प्रतिशत बढ्यो

काठमाण्डौं, २०७८ असोज १९ गते मंगलबार । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को मासिक रासन भत्ता १५ प्रतिशतले बढेको छ । बढेको रासन सुविधा गत साउन १ देखि लागु हुने गरी अर्थ मन्त्रालयले फाइल सदर गरेको हो ।

पूर्ववर्ती सरकारले अध्यादेशबाट ल्याएको बजेटमै रासन वृद्दिको निर्णय गरिए पनि उक्त प्रावधान कार्यान्वयन नहुँदा बढेको भत्ता दिइएको थिएन । केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै भत्ता बढाएको हो ।

नयाँ सरकार गठनछि प्रतिस्थापन विधेयक मार्फत् ल्याइएको बजेटमा उल्लेखित रासन वृद्धिको व्यवस्था अनुसार अर्थमन्त्री शर्माले सोमबार फाइल सदर गरेका हुन् । अर्थ मन्त्रालयका अनुसार जिल्ला दररेट निर्धारण समितिको सिफारिसका आधारमा अर्थ मन्त्रालयले हिमाली, पहाडी, तराई र उपत्यकाका जिल्लाको महंगी र सुगम/दुर्गम हेरेर रासनबापतको रकम विनियोजन गर्दैआएको छ ।

बढेको रासन अनुसार रकम भुक्तानीमा हरेक वर्ष सरकारलाई १ अर्ब १७ करोड रुपैयाँ व्ययभार थपिएको अर्थ मन्त्रालयले जनाएको छ । प्रहरीमा करिब ८० हजार दरबन्दी भए पनि करिब ७० हजार र सशस्त्रमा करिब ३७ हजार सुरक्षाकर्मी कार्यरत छन् । उनीहरुका लागि नगदमै रासन भत्ता दिइने व्यवस्था छ । कान्तिपुर अनलाईन

Facebook Comments