Thu. May 2nd, 2024

अँगालोको न्यानोपना र घामको तापको प्रभाव खोज्ने वैज्ञानिकलाई नोबेल पुरस्कार

काठमाण्डौं, २०७८ असोज १८ गते सोमबार । हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अँगालोको न्यानोपना महसुस गर्छ भनेर पत्ता लगाउने वैज्ञानिकहरूले चिकित्सा विज्ञानको नोबेल पुरस्कार जितेका छन्।

अमेरिकी डेभिड जुलियस र आर्डेम पाटापौटियनले शरिरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको कार्यका लागि सन् २०२१ को लागि नोबेल पुरस्कार जित्नु भएको हो ।

उहाँहरूले हाम्रो शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारे अध्ययन गर्नुभएको हो । यो खोज दुखाइ निदान गर्ने उपचारका लागि महत्त्वपूर्ण हुने बताइएको छ।

नोबेल पुरस्कार कमिटीका थोमस पर्लम्यानले “यो अत्यन्तै महत्त्वपूर्ण र गहिरो खोज” भएको बताउनु भएको छ ।

क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले हामीले पिरो खुर्सानी खाँदा किन पोलेको महसुस गर्छौँ भन्ने विषयमा अध्ययन गर्नुभएको थियो ।

उहाँले खुर्सानीलाई पिरो बनाउने रसायनको अध्ययन गर्नुभएको थियो । उहाँले हाम्रो शरीरका कोषका एक विशेष प्रकारको अंशले त्यो रसायनसँग प्रतिक्रिया गर्दा हामीलाई पोल्ने कुरा पत्ता लगाउनु भयो ।

थप परीक्षणमा त्यही अंशले तापक्रमसँग प्रतिक्रिया जनाउने र पोल्ने तापक्रम हुँदा सक्रिय बन्ने उहाँले पत्ता लगाउनु भयो। हामीले तातो चियामा हात हाल्दा यही अंश सक्रिय हुन्छ र हामीलाई पोलेको अनुभव हुन्छ।

यो खोजपछि तापक्रमसँग प्रतिक्रिया गर्ने अन्य कोषका अंशहरूको खोजी भयो। जुलियस र प्राध्यापक पाटापौटियनले चिसो हुँदा सक्रिय हुने अंश पनि पत्ता लगाउनु भयो । बीबीसी

Facebook Comments