Fri. May 17th, 2024

दाताबाट निःशुल्क प्राप्त खाेप नेपाल रेडक्रसद्वारा सरकारलाई प्रदान

काठमाण्डौं, २०७८ असोज १२ गते मंगलबार । कोभिड-१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोगअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई निःशुल्क खोप प्रदान गर्न सुरुआत गरेका छन् । यस क्रममा सोसाइटीलाई चिनियाँ रेडक्रस सोसाइटीले एक लाख मात्रा भेरोसिल खोप प्रदान गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सोसाइटीका पदाधिकारीले मन्त्रालयमा आज यहाँ आयोजित कार्यक्रममा सो खोप हस्तान्तरण गर्नुभयो । सो अवसरमा सोसाइटीका महामन्त्री पीताम्बर अर्याल र कार्यकारी निर्देशक उमेश ढकालले सोसाइटीका मानवीय सेवाको गतिविधिका बारेमा राज्यमन्त्री श्रेष्ठलाई सङ्क्षिप्त जानकारी दिनुभएको थियो । राज्यमन्त्री श्रेष्ठले महामारी नियन्त्रणमा नेपाल रेडक्रसले सरकारलाई पुर्याएको निरन्तर सहयोगप्रति धन्यवाद दिँदै अगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको लक्ष्यलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपालका मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) मार्फत सोसाइटीले पछिल्लो समय खोपका लागि ‘लबिङ’ (पैरबी) लाई तीव्र बनाएको थियो । अहिले पनि आइएफआरसीले ‘कोभ्याक्स’ अन्तर्गत विकासोन्मुख तथा गरीब देशलाई खोप सहयोग गर्न खोप उत्पादक तथा धनी देशलाई निरन्तर पैरबी गर्दै आएको छ । अमेरिकाले हालै कोभ्याक्सअन्तर्गत जनसन खोप नेपाललाई प्रदान गरेको थियो भने जापानले १६ लाख मात्रा एष्ट्राजेनेका प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

महामन्त्री अर्यालले खोप उत्पादक देशले मानवीय सहयोगअन्तर्गत सोसाइटीलाई खोप प्रदान गर्न सुरुआत गरेको र यस क्रममा चिनियाँ रेडक्रसले एक लाख मात्रा भेरोसिल प्रदान गरेको जानकारी दिनुभयो । उहाँका भन्नुभयो, “खोप उत्पादक देशका देशीय रेडक्रसमार्फत हाम्रो पैरबी निरन्तर जारी नै छ । ती देशका सोसाइटीबाट थप सकारात्मक सन्देश आएको छ ।”

मन्त्रालयका अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्ण मात्राको कोरोनाको खोप लगाइसकिएको छ । हालसम्म ६६ लाख नौ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी कुल एक करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन् भने रुकुम पूर्व, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

यसैगरी खोप अभियानअन्तर्गत सबैले खोप लगाउन थालेपछि सङ्क्रमण पनि घट्दै गइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा पहिलोपटक २०७६ साल माघ ९ गते सङ्क्रमण देखिएको थियो । सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार १६४ सर्वसाधारणले खोप लगाएका थिए ।

सरकारले अगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने जनाएको छ । यसका लागि दुई मात्रा खोप लगाउँदा पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक पर्छ ।

यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका सबैभन्दा गरिब ५० देशले दुई प्रतिशत मात्र खोप पाएका छन् । यी देशमा विश्वका १७ प्रतिशत जनसङ्ख्या बसोबास गर्दछन् । रोग प्रतिरोधात्मक क्षमताका लागि देशभित्र र अन्तर्राष्ट्रियस्तरमा ६० देखि ७० प्रतिशत मानिसलाई खोप लगाइनुपर्छ ।

महामन्त्री अर्यालका अनुसार चिनियाँ रेडक्रसमार्फत प्राप्त भएका खोप स्वास्थ्य मन्त्रालयको समन्वयमा स्वयंसेवक तथा अग्रपङ्क्तिमा खटिनेलाई लगाइने छ । हाल सोसाइटीमा १३ लाख स्वयंसेवक छन् । कोरोनाविरुद्धको सचेतना कार्यक्रम, आइसोलेसन सेन्टर, हेल्थ डेक्स तथा खोप केन्द्रमा उनीहरु परिचालित छन् । नेपाल रेडक्रस, आइएफआरसीको मुख्यालय जेनेभा तथा र विभिन्न देशमा रेडक्रसको देशीय निर्देशक भई मानवीय सेवामा लामो अनुभव सम्हाल्नुभएको उहाँले भन्नुभयो, “महामारी रोमथामको एक मात्र उपाय खोप नै हो । खोप उत्पादन गर्ने देशबाट धेरैभन्दा धेरै मात्रा खोप ल्याई सङ्कटासन्न समुदायका पहुँचमा खोप पु¥याउन मैले प्राथमिकता दिइएको छु ।”

सोसाइटीले महामारीको सुरुआती चरणदेखि यसका रोकथाममा उच्च प्राथमिकता दिई समुदायमा काम गरिरहेको छ । उसले आफ्ना अधिकांश कार्यक्रमलाई महामारी नियन्त्रणमा लगाएको छ । माक्स, स्यानिटाइजर, पिपिई, शव व्यवस्थापनका लागि शव व्यवस्थापन झोला, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई तालिम तथा कोभिड उपचारका लागि अस्पतालमा आवश्यक पर्ने सामग्री सरकारलाई सहयोग गर्दै आएको छ ।

साथै कोभिडबाट जोगिने उपायका बारेमा जनचेतना, क्वारेन्टिन तथा होल्डिङ सेन्टर, मनोसामाजिक परामर्श, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग तथा आवश्यक ब्ल्याङ्केट, तारपोलियनसमेत उपलब्ध गराएको थियो । गोरखापत्र अनलाईन   

Facebook Comments