Tue. Jan 14th, 2025

‘एमसीसीबारे सम्झाउन अमेरिकी अधिकारीहरू नै नेपाल आउनुपर्ने हाे ?’-केपी शर्मा ओली

काठमाण्डौं, २०७८ असोज १२ गते मंगलबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बारे सरकारको धारणा पुनः माग गर्नुभएकाे छ ।

आज मङ्गलवार दिउँसाे प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले एमसीसीबारे सम्झाउन सरकारलाई अमेरिकी अधिकारीहरू नै नेपाल आउनुपर्ने हो र भनी प्रश्नसमेत गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले सरकारको धारणा नआइ आफूहरूले त्यसबारे धारणा बनाउन नमिल्ने अडान पनि दोहोर्‍याउनुभयाे । उहाँले भन्नुभयो, ‘यो सम्बन्धमा सरकारको दृष्टिकोण  के हो ? १६५ सिट भएको सरकारको । पारित गर्ने हो कि होइन, हामीलाई केही शेयर गर्नुभएको छैन ।’

कार्यक्रममा अध्यक्ष ओलीले देश अब चुनावमा जानुको विकल्प नरहेको बताउनुभयो । संसद्ले कामै गर्न नसकेको अवस्थामा देश ‘अर्ली’ चुनावमा जानुपर्ने उहाँको तर्क थियो । अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारले काम गर्न सकेन । त्यसैले चुनावमा जानुपर्छ । एमालेले अबको चुनावमा बहुमत ल्याएर सरकार बनाउनेछ ।‘

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेकाले संसद् अवरोध गर्न बाध्य हुनुपरेको पनि दोहोर्‍याउनुभयाे । उज्यालो अनलाईन

Facebook Comments