Mon. Dec 23rd, 2024

अफगानिस्तानमा अपहरणको आरोप लागेका चार जनाको शव तालिबानले सार्वजनिक स्थानमा झुन्ड्यायो

काठमाण्डौं, २०७८ असोज १० गते आईतबार । अफगानिस्तानको हेरात सहरमा तालिबानले चारजना सन्दिग्ध अपहरणकारीको शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइदिएको विवरण प्राप्त भएको छ। तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट उक्त घटना भएको हो।

एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको एउटा भिडन्तमा मृत्यु भएको एक स्थानीय अधिकारीले बताएका छन्। समाचारसंस्था एपीलाई प्रत्यक्षदर्शीले हेरातको केन्द्रमा एउटा क्रेनमा शव झुन्ड्याइएको आफूले देखेको बताएका छन्।

त्यहाँ पसल सञ्चालन गर्ने वजिर अहमद सिद्दिकीले एपीलाई बताएअनुसार उक्त स्थानमा चारवटा शव ल्याइएको र त्यहाँ एउटा झुन्ड्याइएको थियो भने बाँकी तीन वटालाई सहरका अन्य स्थानमा देखाउन लगिएको थियो।

हेरातका सहायक गभर्नर मौलवी शैर अहमद एमरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले तालिबान लडाकुहरूले अपहरणको आरोप लागेका ती मानिसलाई फेला पारेको र गोली हानाहानमा उनीहरूको मृत्यु भएको जनाएका छन्। “हामीले अरू अपहरणकारीलाई चेतावनी दिन तिनका शवलाई हेरातका चोकहरूमा झुन्ड्यायौँ,” उहाँले भन्नुभएको छ ।

ती मानिसको मृत्यु भएको परिस्थितिमा बीबीसीले स्वतन्त्रतापूर्वक पुष्टि गर्न सकेको छैन। अर्को एउटा भिडिओमा एक व्यक्तिको शव झुन्ड्याइको र उनको छातीमा “अपहरणकारीहरूलाई यसरी दण्ड दिइन्छ” लेखिएको देखिन्छ।

गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएपछि तालिबानले पहिलाको जस्तो कठोर नभई अलि नरम शासन गर्ने बताउँदै आएको छ। तर देशका विभिन्न स्थानबाट मानवाधिकार उल्लङ्घन गरिएका अनेकौँ विवरण प्राप्त भएका छन्।

तर सामाजिक सञ्जालमा प्रेषित बीभत्स तस्बिरमा एउटा पिकअप ट्रकको पछाडिपट्टि रक्ताम्मे शवहरू राखिएको र एउटा क्रेनले एउटा शव उठाइरहेको देखिन्छ। तालिबान सरकारमा कारागार प्रमुख बनाइएका मुल्लाह नूरुद्दिन तुराबीले “सुरक्षाका लागि आवश्यक भएको” भन्दै मृत्युदण्ड र अङ्गच्छेनको सजाय फेरि थालिने बिहीवार घोषणा गर्नुभएको थियो । बीबीसी

Facebook Comments