Thu. Apr 24th, 2025 12:48:45

तीन सातादेखि तल्लो मोदीको उत्पादन ठप्प

काठमाण्डौं, २०७८ असोज ९ गते शनिबार । पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी-१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ ।

गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो । युनाइटेड मोदी हाईड्रोपावर कम्पनीद्वारा सञ्चालित १० मेगावाट क्षमताको यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्षतविक्षत बनाएकाले उत्पादन सुचारु हुन नसकेको आयोजनाले जनाएको छ । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयरवाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको छ । विद्युत् उत्पादन गृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो ।

उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिरोले ढालेको छ । टावर ढलेसँगै तल्लो मोदी-१ को विद्युत्गृहमा पठाउने पानीको नहरको पाँच सय मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किमि क्षेत्र क्षतविक्षत बनाएको थियो । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिरोले ढालेको छ ।

ढालेको टावर निर्माणमा मात्रै करिब डेढ करोड रुपैयाँ खर्च लाग्ने आयोजना कार्यालयले जनाएको छ । आयोजनाको विद्युत् उत्पादन रोकिँदा दैनिक १० देखि ११ लाख रुपैयाँको नोक्सान भइरहेको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो । बाढी र पहिरोका कारण नोक्सान मात्रै ५ करोडभन्दा बढी भएको उहाँले बताउनु भयो । अहिले मर्मतको काम चलिरहेको र अझै केही समय लाग्ने उहाँको भनाइ छ । आयोजनाको संरचना र हालसम्म उत्पादन हुने विद्युत्को नोक्सान मात्रै गरी करिब सात करोड रुपैयाँ भइसकेको उहाँले बताउनु भयो

सोही दिनको पहिरोले युनाइटेड मोदी कम्पनीले नै निर्माण गरेको प्रसारण लाइनको टावर ढाल्दा करिब दुई साता धौलागिरिको विद्युत् प्रसारण रोकिएको थियो । टावर पुरानै अवस्थामा पुनर्निर्माण गर्न अझै केही महिना लाग्ने कम्पनीले जनाएको छ । टावर निर्माणमा ढिलाइ हुने भएपछि विद्युत् प्राधिकरणले प्रसारण लाइनको अस्थायी व्यवस्था गरेर म्याग्दी र मुस्ताङमा उत्पादित विद्युत् प्रसारण लाइनमा पठाएको छ ।

“अहिलेका लागि अस्थायी टावर बनाएर म्याग्दी र मुस्ताङको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा पठाइएको छ,” कालिगण्डकी प्रसारण करिडोर आयोजनाका प्रमुख चन्दनकुमार घोषले भन्नुभयो, “मोदीको टावर बनेपछि सोही टावरमा जोडिन्छ ।” सोही टावर हुँदै १० मेगावाटको तल्लो मोदी-१ सहित म्याग्दीको अन्नपूर्ण-४ नारच्याङस्थित ४२ मेगावाटको मिस्त्रिखोला, ५ मेगावाटको घलेम्दीखोला र मुस्ताङको थासाङ-१ टुकुचेको १३।६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादन प्रसारण भइरहेको थियो । युनाइटेड मोदीको तल्लोमोदी-१ बाहेक म्याग्दी र मुस्ताङको विद्युत् भने भदौ ३१ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिइएको थियो ।

गत माघमा सम्पन्न भएको खुर्कोट-दाना प्रसारणलाइन सम्पन्न भएपछि मुस्ताङ र म्याग्दीमा उत्पादित विद्युत् पनि यही बाटो हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । कारोबार अनलाईन

Facebook Comments