Mon. May 6th, 2024

‘पित्त पत्रीकाका बिरुद्धमा कानुनी कारबाहीमा जान्छु’-वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला

काठमाण्डौं, २०७८ असोज ८ गते शुक्रबार । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता प्रा.डा.युवराज संग्रौलाले पित्त पत्रीकाका बिरुद्धमा कानुनी कारबाहीमा जाने बताउनु भएको छ ।

“माधव नेपालसँग चुनावमा प्रतिस्पर्धा गरेका डा. संग्रौला र आचार्य एकिकृत समाजवादीमा” भन्ने शीर्षकमा “हाम्रो सञ्चार” अनलाईन पत्रिकाले   समाचार प्रकाशित गरेपछि डा. संग्रौलाले पित्त पत्रीकाका बिरुद्धमा कानुनी कारबाहीमा जाने बताउनु भएको हो ।

सो पत्रिकाले हिजो २०७८ साल असोज ७ गते बिहीबार “पूर्वमहान्यायाधिवक्ता संग्रौला नेकपा (एकीकृत समाजवादी) मा आवद्ध भइसकेका छन्” भनि समाचार प्रकाशित गरेको छ ।

सो पत्रिकाले लेखेको छ, “काठमाडौं, असोज ७- पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौला र डा. सूर्यराज आचार्य माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सामेल हुने भएका छन् ।

उनीहरुले नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको बैठकमा प्रशिक्षण दिने भएका हुन् । युवा संघ नेपालको केन्द्रीय सचिवालयको काठमाडौँमा बिहीबारदेखि सुरु भएको पहिलो बैठकमा संग्रौला र आचार्यले प्रशिक्षण दिने भएका हुन् ।

पूर्वमहान्यायाधिवक्ता संग्रौला नेकपा (एकीकृत समाजवादी) मा आवद्ध भइसकेका छन् भने आचार्य समाजवादीमा लाग्न अध्यक्ष नेपालसँग छलफल गरिरहेका छन् । यही बीचमा उनीहरुले युवा संघको बैठकमा प्रशिक्षण दिने निश्चित भएको हो । आचार्यले २०७४ को चुनावमा विवेकशील साझा पार्टीबाट माधवकुमार नेपालसँग काठमाडौँ-२ मा प्रतिस्पर्धा गरेका थिए ।”

डा. संग्रौलाले सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्नु भएको छ“हामी दुई जनालाई बिकासनिर्माण र नेपालको बिकास चुनौतीका बारेमा आफ्नो धारणा राखिदिन बिज्ञका रुपमा अनुरोध गरेको हो। आफ्नो मत राख्न जस्ले बोलाएपनि म जान्छु, पार्टीका औपचारिक कार्यक्रममा बाहेक। बुद्धिजीवी रास्ट्रको हुन्छ कुनै पार्टीको होइन। म कुनै पार्टीको सदस्य होइन। आफ्नो दृष्टिकोण राख्ने स्वतन्त्रता मलाइ छ। मेरो स्वतन्त्र छबीलाई हिलो छ्याप्ने नियतले गरेको यो पित्त पत्रीकाका बिरुद्धमा म कानुनी कारबाही गर्ने छु। यो पत्रकारले मलाई खबरै नगरी यथार्थताको जानकारी नलीइ लेखेको यो खबरबाट मेरो बदनाम गर्ने नियत स्पष्ट देखिन्छ। कानुनी कारबाही फेस गर्नका लागि तयार रहनुहोला, मित्र पत्राकार ज्यु। पित्तपत्रीकाको हद हुन्छ।”

Facebook Comments