Thu. May 2nd, 2024

चन्द्रमामा रहेको बरफ अध्ययन गर्न नासाको मिसन

काठमाण्डौं, २०७८ असोज ७ गते बिहीबार । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा पानी र बरफ खोज्न एउटा गुड्ने रोबट पठाउँदै छ। सो रोबट चन्द्रमाको दक्षिणी ध्रुवस्थित एउटा ज्वालामुखी पर्वतको मुख नोबल क्रेटरको पश्चिमी किनारामा उत्रनेछ।

गल्फ खेलमा प्रयोग हुने गाडी जत्रै उक्त रोबट सन् २०२३ मा ७३ किलोमिटर फराकिलो क्षेत्रमा अवतरण गर्ने छ। चन्द्रमाको सो क्षेत्र लगभग स्थायी रूपमै छायामा रहेको छ।

भाइपर मिसनले चन्द्रमामा मानव अन्वेषणको योजनालाई सहयोग गर्नेछ किनकि बरफ भेटिएमा त्यसलाई पिउने पानी र रकेटको इन्धनका रूपमा प्रयोग गर्न उत्खनन गर्न सकिनेछ।

नासा यो दशकमा चन्द्रमाको सतहमा अन्तरिक्षयात्रीलाई पुनः पठाउन चाहन्छ। उसको आर्टिमिस कार्यक्रम अन्तर्गत पहिलो पटक महिला र पहिलो अश्वेत व्यक्ति चन्द्रमा उत्रने छिन्।

यसले पृथ्वीको एक मात्र उपग्रहमा दीर्घकालीन रूपमा मानवीय उपस्थितिका लागि ढोका खोल्ने छ। क्यालिफोर्नियास्थित नासाको एम्स रिसर्च सेन्टरमा भाइपरको परियोजना प्रबन्धक ड्यानिअल एन्ड्र्यु मिसनले चन्द्रमाको बरफलाई निकाल्न कति सजिलो वा अप्ठ्यारो हुनेछ भन्ने बुझ्न सहयोग गर्ने बताउनु हुन्छ ।

उहाँले भन्नुभयो, “यदि स्रोतहरू प्रचुर र सहजै प्राप्त गर्न सक्ने अवस्थामा रहेका छन् भने त्यसले वास्तवमै चन्द्रमामा मानिस रहन सक्ने प्रकृतिलाई नै परिवर्तन गरिदिनेछ। र, हामीलाई ती स्रोतहरूको फेरि कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा बुझ्न पनि मद्दत गर्नेछ।”

चन्द्रमाका ध्रुवीय क्रेटरहरूमा अर्बौँ टन बरफ रहेको विभिन्न प्रमाणहरूले देखाएका छन्। त्यसले कहिल्यै पनि सूर्यको प्रकाश देख्न पाउँदैन र त्यस क्षेत्रको तापक्रम माइनस २२३ डिग्री सेल्सिअससम्म छ।

स्थायी रूपमा छायामा रहने र धेरै चिसो वातावरण हुने भएकाले ती क्षेत्रमा ठूलो मात्रामा जमेको बरफ रहेको विश्वास गरिन्छ। बीबीसी

Facebook Comments