Fri. May 17th, 2024

राष्ट्रपति भण्डारीद्वारा सी चीनफिङ-चीनको शासन व्यवस्था खण्ड-२’ को नेपाली संस्करण लोर्कापण

काठमाण्डौं, २०७८ असोज ७ गते बिहीबार । राष्ट्रपति विद्यादेवी भण्डारीले “सी चीनफिङ-चीनको शासन व्यवस्था खण्ड-२”  पुस्तकको नेपाली संस्करणको लोर्कापण गर्नुभएको छ ।

 

राष्ट्रपति भवन शितल निवासमा आज दिउसो सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्नुहुँदै भण्डारीले नेपाल एक चीन नीतिमा सधै उभिएको बताउनु भएको छ । राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेको पनि स्पष्ट पार्नुभयो ।

सी चीनफिङ खण्ड-३ पुस्तकको अंग्रेजी संस्करणको परिचात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको सो समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रपति पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दै यस क्षेत्रमा हाम्रो साझेदारीलाई थप सघन तुल्याउनु पर्ने सुझाब दिनुभयो ।

राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड-१९ विरुद्धको खोपलाई विश्व समुदायको सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिक रूपमा सर्वसुलभ बनाई सबैको पहुँच सुनिश्चित गर्ने राष्ट्रपति सीको मानवतावादी प्रतिवद्धताबाट नेपाल लगायत विश्वका धेरै देशहरू लाभान्वित भएको भन्दै चिनियाँ नेतृत्वको उच्च प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच परापूर्व कालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको बताउनु भयो । राजदूत होउले भन्नुभयो, “भूगोल र प्रकृतिले हामीलाई एक अर्कासँग निकट बनाएका छन्, हाम्रा दुई देशलाई महान बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको छ ।”

राजदूत यान्छीले दुवै देशले पारस्परिक मित्रता एवं विकासमा बिकशित भएको साझेदारीलाई महत्वपूर्ण रहेको बताउनु भयो ।

आज लोकार्पण भएको पुस्तकको अनुवाद चीन अध्ययन केन्द्रले गरेको र त्यो पुस्तक केन्द्रले चिनियाँ दूतावासलाई हस्तान्तरण गरेको हो । चीन अध्ययन केन्द्रका कार्यकारी अध्यक्ष तथा पूर्व राजदूत सुन्दरनाथ भट्टराईले लोकार्पित पुस्तकको परिचय दिनुका साथै कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्नुभएको थियो ।

नेपालस्थित विभिन्न मैत्री संस्थाका प्रतिनिधिहरु, कुटनीतिक क्षेत्रका ख्यातीप्राप्त महानुभावहरु, नेपालस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारी तथा पाहुनाहरु र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत सहभागिता रहेको सो कार्यक्रमको सञ्चालन चीन अध्ययन केन्द्रका सचिव प्रकाश बाबु पौडेलले गर्नु भएको थियो ।

Facebook Comments