Fri. May 3rd, 2024

जलवायु परिवर्तनको असर, ५० डिग्री बढी गर्मी हुने दिन दोब्बर बढ्यो

काठमाण्डौं, २०७८ असोज ६ गते बुधबार । तापक्रम ५० डिग्री सेल्सियस माथि पुगेर हरेक वर्ष अत्यधिक गर्मी हुने दिनहरू विगत चार दशकमा दोब्बर भएको बीबीसीको एक विश्लेषणले देखाएको छ। विश्वमा अत्यधिक गर्मी हुने ठाउँहरू पनि विगतको भन्दा धेरै स्थानमा फैलिँदा मानव स्वास्थ्य र हाम्रो जीवनशैलीमै अभूतपूर्व चुनौती थपिएको छ।

सन् १९८० यता हरेक दशकमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने दिनहरू निरन्तर बढिरहेको देखिन्छ। १९८० देखि २००९ को बीचमा औसतमा वर्षको १४ दिन मात्रै ५० डिग्रीभन्दा बढी तापक्रम पुगेको थियो। तर २०१० देखि २०१९ को बीचमा यस्तो गर्मी हुने दिनहरू बढेर वर्षको २६ दिनसम्म पुगे।

यो अवधिमा ४५ डिग्री माथि तापक्रम पुग्ने दिनहरू पनि औसतमा वर्षको दुई हप्ता बढेको पाइएको छ। “यसरी तापक्रम बढ्नुमा खनिज इन्धनको प्रयोग शतप्रतिशत जिम्मेवार छ,” युनिभर्सिटी अफ अक्सफोर्डका वातावरण परिवर्तन सम्बन्धी उप निर्देशक फ्रेडरिक ओट्टो बताउनु हुन्छ ।

विश्वभरिकै तापमान बढ्दै जाँदा चरम गर्मी बढ्दै जाने हो। मानिस र प्रकृतिका लागि निकै घातक हुने तातो हावाले भवन, सडक र ऊर्जा प्रणालीलाई पनि ठूला समस्या निम्त्याउन सक्छ।

मध्यपूर्व र खाडीले ५० डिग्रीको तापक्रम हुने सबैभन्दा धेरै क्षेत्र समेटेको छ। यो वर्ष इटली र क्यानडामा इतिहासकै सबैभन्दा धेरै तापक्रम पुग्यो। इटलीमा ४८.८ डिग्री र क्यानडामा ४९.६ डिग्री तापक्रम मापन गरिएको थियो।

वैज्ञानिकहरूले जीवाश्म इन्धनको उत्सर्जन नरोकिए ५० डिग्री माथि तापक्रम विश्वको जताततै पुग्ने चेतावनी दिएका छन्। “हामीले यसमा धेरै छिटो कदम चाल्नुपर्छ। जतिसक्दो छिटो हामीले उत्सर्जन घटाउँछौँ हाम्रोलागि त्यति नै राम्रो हुने हो,” अक्सफोर्ड विश्वविद्यालयको भूगोल र वातावरण सम्बन्धी विषयमा सोधकर्ता डाक्टर सिहान ली भन्नुहुन्छ । बीबीसी

Facebook Comments