Mon. May 20th, 2024

क्रिश्चियन धर्मावलम्बीहरुले आज क्रिसमस मनाउँदै, राष्ट्रपति भण्डारीद्वारा शुभकामना

काठमाडौं, २०७६ पुष ९ गते बुधबार ।

क्रिश्चियन धर्मावलम्बीहरुले आज विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै भव्य रुपमा क्रिसमस मनाउँदैछन् । क्रिसमसकै अवसरमा राजधानीका पाँचतारे होटलदेखि सामान्य रेस्टुराँहरूमा ‘क्रिसमस’ निकै सजिसजाउ छन् । रेस्टुरेन्टहरूमा हिउँको थुप्रोजस्तो सेतो कपासले सजिएका ‘क्रिसमस ट्री’मा बत्तीको चमकसहितको एउटा आकर्षक आकृति देखिन्छ ।

कृत्रिम तथा प्राकृतिक स–साना रूखलाई सजाएर मनाइने क्रिसमसमा बत्ती र कला अनिवार्यजस्तै भएको छ । गोेरखापत्र अनलाईनका अनुसार अहिले नेपालका ठूलो सङ्ख्यामा युवापुस्ताले
क्रिसमस मनाउँछन् । नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेको र क्रिसमसले राष्ट्रिय चाडको मान्यतासमेत पाइसकेको अवस्थामा बर्सेनि क्रिसमस भव्य हुन थालेको छ ।

ठमेलस्थित फरएभर क्याफेका निरललित पियाले अहिले पर्यटकका लागि ‘अफ सिजन’ भए पनि नेपाली युवापुस्ताका लागि क्रिसमस मनाउनु एउटा संस्कृति भइसकेको बताउनुभयो । गायिका लसता जोशीले विद्यालय पढ्दैदेखि क्रिसमस मनाउँदै आएको जानकारी दिँदै विश्वव्यापी रूपमा मनाइने यो अन्तर्राष्ट्रिय चाड बनेको धारणा व्यक्त गर्नुभयो । उहाँले यसपालि आफूले विभिन्न होटलमा क्रिसमसको गीत गाउने जानकारी पनि दिनुभयो ।

ललितपुरका सनम अधिकारीको त क्रिसमसमा योजना भव्य छ । उहाँ क्रिसमस र न्यु इयर मनाउन भारतको गोवा जाने तयारीमा हुनुहुन्छ । गैरक्रिस्चियन भए पनि पुनेमा पढ्दादेखि साथीहरूसँग क्रिसमस मनाउने बानी परेको बताउँदै उहाँले चाड मनाउन त्यही धार्मिक सम्प्रदायकै हुनुपर्छ भन्ने नलाग्ने बताउनुभयो । क्रिसमसकै अवसरमा आफ्नी छोरीलाई शान्ताका लुगा (रातो फ्रक) खरिद गर्दै गर्नुभएका नम्रता गुरागाईंले भन्नुभयो, “हामी त हिन्दू हौँ तर विद्यालयमा सबैले शान्ताका लुगा लगाउने रे, त्यसैले खरिद गर्न आएका हौँ । ”

क्रिसमसका अवसरमा काठमाडौँको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला सहरमा पनि विविध महोत्सव र सांस्कृतिक कार्यक्रम गरी चाड मनाउन थालिएको छ । क्रिसमसका लागि आयोजना हुने यस्ता महोत्सव तथा सांस्कृतिक कार्यक्रमले मनोरञ्जनका साथै सामाजिक, धार्मिक र सांस्कृतिक सद्भाव विस्तार गर्न मद्दत पुर्याउँछ।

हाल ठूला सहरमा ‘क्रिसमस इभ’ भन्दै सबै धर्मावलम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ । क्रिसमसप्रति बढ्दो आकर्षणबारेमा राष्ट्रिय ख्रिस्टियन मण्डलीका प्रेम खड्का भन्नुहुन्छ, “केही युवाले फेसनका रूपमा यो चाड मनाएको देखिए पनि मुख्य कुरा संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेपछि ख्रिस्टियन धर्मावलम्बी खुल्न थालेका हुन् । ”

इसाई धर्मका संस्थापक मानिने येसु ख्रिस्टको जन्मदिन २५ डिसेम्बर भएको मान्यतासहित विश्वभर उक्त दिनलाई विशेष अवसरका रूपमा धूमधामका साथ मनाइन्छ । येसुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसका अवसरमा देशभरका इसाई धर्मावलम्बीले विशेष प्रार्थना तथा कार्यक्रम गर्ने गर्छन् ।

यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मालम्बीहरुको महानपर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना सन्देश दिनु हुँदै स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपाली सबैको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम भएको मुलुक भएको भन्दै बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख छ । ‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको पनि सन्देशमा उल्लेख छ । यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने पनि उहाँले कामना गर्नुभएको छ ।

Facebook Comments