Tue. Apr 30th, 2024

नासाको पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहमा सङ्कलन गरेका नमुना किन महत्त्वपूर्ण

काठमाडौं, २०७८ भदौ २८ गते सोमबार । मङ्गल ग्रहमा अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोभरले गत साता चट्टानको दोस्रो नमुना सङ्कलन गरेपछि वैज्ञानिकहरू निकै उत्साहित बनेका छन्।

पर्सिभिअरन्सले सेप्टेम्बर ६ मा मङ्गलको चट्टानमा प्वाल पारेर औँलाजत्रो नमुना सङ्कलन गरेको थियो। त्यसको दुई दिनपछि फेरि अर्को नमुना सङ्कलन गरियो। सङ्कलित नमुना ज्वालामुखीबाट बनेको वैज्ञानिकहरूको विश्वास छ। अनि ती चट्टान उत्पत्ति भएको समय निर्धारण गर्न सकिन्छ।

उक्त चट्टानमा लवण पनि छ। त्यसले पानी परिवर्तन भएको सङ्केत गर्छ अनि अन्ततः त्यहाँ जीव अस्तित्वमा भएको सम्भावना पनि। अथवा कम्तीमा पहिला जीवको अस्तित्त्व थियो भन्ने सङ्केत। पानी हुँदैमा जीव अस्तित्वमा आउँछ भन्ने छैन। तथापि बिनापानी जीवको अस्तित्व हुने कुरा बुझ्न गाह्रो छ।

जेजेरो क्रेटर अर्थात् खाडलमा अर्बौँ वर्षअघि जीवलाई बस्नयोग्य परिस्थिति भएको देखिएकाले नासाले त्यहाँ पर्सिभिअरन्स रोभर पठाएको हो। स्याटलाइट तस्बिरहरूले ४५ किलोमिटर चौडा उक्त खाडलमा कुनै बेला एउटा ताल भएको सङ्केत गर्छन्। त्यहाँ एउटा विशाल नदी र पश्चिम भागमा त्रिवेणी बनेको र थिगर जम्मा भए जस्तो देखिन्छ।

अहिले सङ्कलन गरिएका चट्टानका नमुनाबाट त्यतिबेलाको जलीय पर्यावरणको कालखण्ड गणना गर्न सकिने अपेक्षा गरिएको छ। बीबीसी

Facebook Comments