Sat. Oct 19th, 2024

अफगानिस्तानलाई तीन करोड डलरभन्दा बढीको सहायता दिने चीनको प्रतिबद्धता

काठमाडौं, २०७८ भदौ २५ गते शुक्रबार । चीनले अफगानिस्तानलाई तीन करोड दश लाख डलर बराबरको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सो सहयोगमा खानेकुरादेखि कोरोनाभाइरस विरुद्धको खोप समेत छ।

पैचिंगले तालिबान सरकारसँग सम्बन्ध कायम राख्न आफू तयार रहेको बताइरहँदा त्यस्तो सहायता प्रदान गरिने समाचार आएको हो। चीनका अनुसार नयाँ अन्तरिम सरकारको स्थापना अफगानिस्तानमा “शान्ति सुव्यवस्था कायम गर्न आवश्यक कदम” हो।

तालिबानले हालै अन्तरिम सरकार गठन गरेको जनाउँदै देशलाई “इस्लामिक अमिरात” पनि घोषणा गरेको छ। यसैबीच उक्त देशसँगको सम्बन्ध विस्तारमा चीनले तीव्र कदम चालेको देखिन्छ।

चीनका विदेशमन्त्री वाङ्ग यीले बुधवार अफगानिस्तानका केही छिमेकी देशका आफ्ना समकक्षीहरूसँगको बैठकका क्रममा उक्त देशलाई दिइने सहायताको घोषणा गर्नुभएको हो । उक्त बैठकमा पाकिस्तान, इरान, ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानका मन्त्रीहरू सहभागी थिए। विदेशमन्त्री वाङ्गले ती देशहरूलाई पनि सहयोग गर्न आह्वान गर्दै चीनले ३० लाख मात्रा खोप उपलब्ध गराउने पनि बताउनु भएको थियो ।

चीनले अफगानिस्तानबाट बाहिरिने अमेरिकी निर्णयको खुला रूपमा निन्दा गर्दै अमेरिकी सैनिकहरूले त्यहाँ “विध्वंस मच्चाएको” बताएको छ। बीबीसी

Facebook Comments