Sat. Oct 19th, 2024

चीन र अमेरिकाका राष्ट्रनायकबीच सात महिनापछि टेलिफोन वार्ता

काठमाडौं, २०७८ भदौ २५ गते शुक्रबार । अमेरिकी राष्ट्रपति जोन बाइडेनको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँबीच टेलिफोन वार्ता भएको छ। टेलिफोनमा उहाँहरूले आपसी सम्बन्ध तथा साझा अभिरूचि भएका विषयबारे सदिच्छापूर्वक, गहन तथा व्यापक रूपमा रणनैतिक सम्पर्क र वैचारिक आदानप्रदान गर्नुभएको छ।

टेलिफोनमा चिनियाँ राष्ट्राध्यक्ष सीले बितेका केही समयदेखि चीनप्रति अमेरिकाले लागू गरेको नीतिबाट आपसी सम्बन्धमा गम्भीर समस्या देखापरेको भन्दै यसबाट दुई देशका जनताको आधारभूत हित तथा विश्वका विभिन्न मुलुकको साझा हितसँग अनुकूल नभएको दाबी गर्नुभएको छ। पारस्परिक सम्बन्धबारे चर्चा गर्दै सीले भन्नुभएको छः चीन र अमेरिकाले आपसी सम्बन्धलाई सञ्चालन गर्ने कुरा विश्वको भविष्यसँग सम्बन्धित छ। एक आपसमा सहयोग भएमा दुवै मुलुक लगायत विश्वको लागि हितकर हुनेछ र आपसमा द्वन्द्व भएमा दुई देश लगायत सम्पूर्ण विश्वलाई क्षति पुर्याइने छ। चीन-अमेरिका सम्बन्धलाई राम्रो बनाउने कि नबनाउने भन्ने छनौट छैन बरू यस सम्बन्धलाई कसरी राम्रो पार्ने भन्ने विषय मात्रै दुवै मुलुकले हेर्नुपर्छ।

सीले अगाडी भन्नुभएको छ, ‘वर्तमान विश्वमा चीन र अमेरिकाले मूल स्थितिलाई केलाएर ठूलो जिम्मा बहन गर्दै अघि बढ्दै जानुपर्छ र पारस्परिक सम्बन्धलाई स्थिर रूपमा विकसित हुने ठीक बाटोमा फर्काउनुपर्छ।’

टेलिफोनमा अमेरिकी राष्ट्रपति बाइडेनले प्रकाश पार्नुभएको छ, ‘अमेरिकाले एक चीन नीतिलाई परिवर्तन गर्ने विचार नगरेको र चीनसँग अझ धेरै सदिच्छापूर्ण आदानप्रदान तथा रचनात्मक वार्ता गर्ने इच्छा लिएको छ र आपसी सम्बन्धलाई सही बाटोमा फर्काउने आशा पनि गरेको छ।’

टेलिफोन वार्तामा दुई पक्षबीच बहु तरिकामार्फत् नियमित सम्पर्क गर्दै व्यापक रूपमा वार्ता गरेर आपसी सम्बन्धको विकासको लागि वातावरण सिर्जना गर्ने सहमति पनि भएको छ। सीआरआई

Facebook Comments