Fri. May 17th, 2024

एमसीसी उपाध्यक्ष फतिमासहितको टोलीद्वारा एमाले अध्यक्ष ओलीसँग भेट

काठमाण्डौं, २०७८ भदौं २४ गते बिहीबार । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारसहितको टोलीको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुसँग बालकोटमा भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीका प्रमुख स्वकीय राजेश बज्राचार्यका अनुसार  बैठकमा एमालेबाट परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य विष्णु रिमाल, केन्द्रीय सदस्य सूर्य थापा लगायतका नेताहरुको सहभागिता रहेको बज्राचार्यले बताउनुभयो ।

चार दिनका लागि नेपाल भ्रमणमा आउनुभएकी पूर्वाधार परियोजना उपाध्यक्ष फतिमासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासहित संसदमा सहभागी प्रमुख दलका नेताहरुसँग भेट्ने कार्यतालिका बनाएको बुझिएको छ । नेपाल भ्रमणकाे पहिलाे दिन एमसीसी प्रतिनिधिहरुले पहिलो भेट अध्यक्ष ओलीसँग गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री  शेरबहादुर देउवासँग शुक्रबार साँझ बालुवाटारमा भेटघाट गर्ने तालिका रहेको बताइएको छ । त्यस्तै, एमसीसी प्रतिनिधिहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेता डा. बाबुराम भट्टराई लगायतसँग भेटघाट गर्ने तयारी गरेका छन् । गोरखापत्र अनलाईन

Facebook Comments