Thu. May 2nd, 2024

क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोडको लागतमा अत्याधुनिक अस्पताल भवन बनाउने

काठमाण्डौं, २०७८ भदौं २४ गते बिहीबार । काठमाडौं क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयले जनताको स्वास्थ्य सेवालाई उच्च महत्व दिंदै अत्याधुनिक सुविधा सम्पन्न अस्पताल भवन निर्माण गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले एक भव्य समारोहबीच बिहीबार विहान सो भवनको सिलान्यास गर्नुभएको हो । सो समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख शाक्यले क्षत्रपाटी निःशुल्क चिकित्सालयले जनताको स्वास्थ्य रक्षाको लागि वर्षौदेखि निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको भन्दै सो चिकित्सालयले निर्माण गर्ने अत्याधुनिक भवनको लागि महानगरपालीकाको तर्फबाट ५ करोड रुपैंया सहयोग गर्ने बताउनु भयो । साथै उहाँले महानगरपालिकाको प्रयास मात्रले अस्पताल भवन निर्माण सम्पन्न नहुने भएकोले आमजनसमुदाय तथा दाताहरुको ठूलो सहयोग अस्पतालाई प्राप्त हुने पनि विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, राम्रो काम गर्नुहोस् पैसाको अभाव हुन्न ।

सो समारोहलाई सम्बोधन गर्नुहुँदै काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई महानगरपालिकाले उच्च प्रार्थमिकतामा राखेको जानकारी दिनुहुँदै भवन निर्माणमा आम दाताहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । साथै उहाँले कोरोना महामारी नियन्त्रणको लागि क्षत्रपाटी निःशुल्क चिकित्सालयले ठूलो योगदान गरेको पनि बताउनु भयो ।

 

काठमाडौं महानगरपालिका वडा नंं.१७ का वडाअध्यक्ष नविन मानन्धरले स्थापना कालदेखि नै क्षत्रपाटी निःशुल्क चिकित्सालयलले नहुनेलाई दिने र हुनेबाट लिने सिद्धान्तबाट विगतदेखि नै सरल र सहज ढंगबाट जनताको स्वास्थ्य रक्षामा आफुलाई समर्पित गर्दै आएको बताउनु भयो । वडाअध्यक्ष मानन्धरले वि.सं.२०१५ साल र वि.स.२०७२ सालको महाभूकम्पको समयमा क्षत्रपाटी निःशुल्क चिकित्सालयले जनताको जीवन रक्षाको लागि कुनै कसर बाँकी नराखेको जानकारी दिनुभयो ।

क्षत्रपाटी निःशुल्क चिकित्सालयलका अध्यक्ष डा. मनोजमान श्रेष्ठले विगत लामो समयदेखि सो चिकित्सालयको भौतिक तथा प्राविधिक क्षेत्रको सहयोगमा काठमाडौं महानगरपालिका, स्थानीय वडा कार्यालयहरु र चन्दादाताहरुको योगदान महत्वपूर्ण रहेको बताउनु भयो ।

डा.श्रेष्ठले समुद्घाटन गरिएको माउ बद्री भवनको कुल लागत ३५ करोड रुपैया लाग्ने पनि जानकारी दिनुभयो । साथै उहाँले क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई आर्थिक तथा प्राविधिक, बौद्धिक रुपमा सहयोग पुयाउनु हुने महानुभावहरुप्रति आभार समेत व्यक्त गर्दै विगतमा जस्तै भविष्यमा पनि क्षत्रपाटी निःशुल्क चिकित्सालयको भौतिक तथा प्राविधस्तर उकास्न र अस्पताललाई अझ आधुनिक सुविधासम्पन्न बनाउने कार्यमा सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रुपैयाँको कुल पुँजिबाट सुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो । तत्कालिन सञ्चार, यातायात तथा नहर मन्त्री गणेशमान सिंहले २०१६ साल माघ २३ गते श्रीपञ्चमीका दिनमा भवन शिलान्यास गरेर भौतिक पूर्वाधारमा अघि बढेको अस्पतालले हाल दुईवटा अत्याधुनिक भवनमा सम्पूर्ण स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ । हुनेसँग शुल्क लिने र नहुनेसँग शुल्क नलिई सेवा गर्ने नीति लिएको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा मुटुसम्बन्धी अत्याधुनिक उपचार सेवा उपलब्ध छ भने दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सहित अत्याधुनिक भेन्टिलेटर सुविधासमेत छ ।

Facebook Comments