Fri. May 17th, 2024

अफगानिस्तानः पन्जशिर उपत्यका नियन्त्रणमा लिएको तालिबान दाबी, विरोधी समूह भन्छ ‘सत्य हैन’

एनआरएफका सैनिक

काठमाण्डौं, २०७८ भदौं २१ गते सोमबार । तालिबानले आफ्नो नियन्त्रणमा आउन बाँकी रहेको पन्जशिर प्रान्तमा पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ।

राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिबान शासनको प्रतिरोध हुँदै आएको छ। केही दिनदेखि त्यहाँ लडाइँ भइरहेको बताइन्छ।

“यो विजयसँगै हाम्रो देशलाई पूर्णतः युद्धको दलदलबाट निकालिएको छ,” तालिबानका एक प्रवक्ताले भने।

तर तालिबानको प्रतिरोध गरिरहेको न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले तालिबानको दाबीको खण्डन गरेको छ।

“यो सत्य हैन। तालिबानले पन्जशिर उपत्यकालाई नियन्त्रणमा लिएको छैन। म तालिबानको दाबीको खण्डन गर्छु,” एनआरएफका प्रवक्ता अलि मैसमले बीबीसीसँग भने।

उक्त समूहको ट्विटरमा भनिएको छः ”एनआरएफका सैनिकहरू युद्धलाई निरन्तरता दिन उपत्यकाका सबै रणनीतिक स्थानमा छन्। हामी अफगनिस्तानका जनतालाई आश्वस्त पार्न चाहन्छौँ कि न्याय र स्वतन्त्रता कायम नभएसम्म तालिबान र तिनका साझेदारविरुद्धको सङ्घर्ष जारी रहन्छ।”

सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा प्रान्तीय गभर्नरको कार्यालयको प्रवेशद्वारअगाडि तालिबान लडाकुहरूलाई देखाइएको छ। बीबीसीले ती तस्बिरलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। बीबीसी

Facebook Comments