Sat. Sep 21st, 2024

इथियोपिया: हजारौँ टिग्रे विद्रोही मारिएको सेनाको दाबी

काठमाण्डौं, २०७८ भदौं २० गते आईतबार । इथियोपियाको सेनाले आफूसँग देशको उत्तरी भेगमा युद्ध गरिरहेको टिग्रेका विद्रोही समूहका ५,६०० जनाभन्दा बढी सदस्य मारिएको दाबी गरेको छ।

उक्त क्षेत्रमा गत नोभेम्बर महिनादेखि हिंसात्मक द्वन्द्व भइरहेको छ।

वरिष्ठ सैन्य अधिकारी बाशा डुबेलका अनुसार २,३०० विद्रोही घाइते भएका छन् भने २,००० पक्राउ परेका छन्।

उनले कति समयावधिमा ती विद्रोहीहरू हताहत भएका हुन् भन्ने खुलाएनन्। तर संवाददाताहरू पछिल्ला युद्धमै त्यति सङ्ख्यामा विद्रोहीहरू मारिएको वा घाइते भएको हुनसक्ने ठान्छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण लाखौँ मानिसहरूले भोकमरीको मारमा परेका छन्।

लेफ्टिनेन्ट जेनरल डुबेलले टीपीएलएफ भनेर चिनिने टिग्रे पीपल्स लिबरेशन फ्रन्टले इथियोपियालाई विभाजन गर्न खोजेको आरोप लगाएका छन्।

“सेनाले दिएको सङ्ख्या ठूलो छ र यसलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न गाह्रो छ। तर एउटा कुरा भने स्पष्ट छ – १० महिना लामो युद्धले अझै दुःखद नतिजाहरू दिइरहेको छ,” बीबीसीकी इथियोपिया संवाददाता कल्किदान यिबेल्तालले भने।

टीपीएलफको एउटा समूहले टिग्रे र अम्हाराबीचको सीमामा रहेको हुमेरा क्षेत्र नियन्त्रणमा लिने प्रयास गरेको भए पनि त्यो “पूर्ण रूपमा विफल भएको” उनले बताएका छन्।

सेनाको दाबीबारे टीपीएलएफले कुने प्रतिक्रिया जनाएको छैन।

प्रधानमन्त्री आबी अहमद र टिग्रे क्षेत्रको प्रमुख राजनीतिक शक्ति टीपीएलएफबीच लामो समयसम्म चलेको असमझदारीपश्चात् गत वर्ष दुई पक्षबीच युद्ध सुरु भएको थियो।

सेनाका कैयौँ शिविरमा गरिएका आक्रमणमा टीपीएलएफको हात रहेको आरोप लगाउँदै सङ्घीय सरकारले टिग्रे क्षेत्रमा प्रादेशिक सरकारलाई विस्थापित गर्नका लागि सेना परिचालन गरेको थियो।

त्यस क्रममा हजारौँ मानिसले ज्यान गुमाएका थिए भने लाखौँ मानिस घर छाडेर भाग्न बाध्य भएका थिए।

सेनाका कैयौँ शिविरमा गरिएका आक्रमणमा टीपीएलएफको हात रहेको आरोप लगाउँदै सङ्घीय सरकारले टिग्रे क्षेत्रमा प्रादेशिक सरकारलाई विस्थापित गर्नका लागि सेना परिचालन गरेको थियो।

त्यस क्रममा हजारौँ मानिसले ज्यान गुमाएका थिए भने लाखौँ मानिस घर छाडेर भाग्न बाध्य भएका थिए। बीबीसी

Facebook Comments