Tue. Apr 23rd, 2024

आज अपरान्ह चिनियाँ राष्ट्रपति सी जिनपिङ विशेष विमानमार्फत काठमाडौं अवतरण गर्ने

काठमाडौं, २५ असोज । छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङ आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उनी दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति सी आज अपरान्ह ०४ः३०–०५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं विमानस्थलमा अवतरण परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति सीलाई उच्च सम्मानका साथ स्वागत गर्न सरकारले उच्च तयारी गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पनि पूरै सजाइएको छ ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रपति सी काठमाडौंमा अवतरण गरेपछि सीले केहीबेर विश्राम लिने र त्यसपछि भेटघाटका कार्यक्रम सुरु हुने कार्यतालिका तय गरिएको छ । दुई देशका राष्ट्रपतिबीच साँझ ६ः३० बजे भेटवार्ता हुने कार्यक्रम छ । उक्त भेटघाट राष्ट्रपति निवास शितल निवासमा हुने बताइएको ५ ।

त्यसपछि सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । देउवासँगको भेटवार्तापछि राष्ट्रपति भण्डारीले आयोजना गरेको राजकीय भोजमा सी सहभागी कार्यतालिका छ ।

आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि, उक्त मन्त्रालयले वार्ताको मिति सार्वजनिक गरेको छैन ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

Facebook Comments