Mon. Dec 23rd, 2024

सबै सांसद मन्त्रीका आकांक्षी भएपछि माधव नेपाललाई थप चुनौती

काठमाण्डौं, २०७८ भदौं १३ गते आईतबार । नेकपा (एकीकृत समाजवादी) का सबै सांसद मन्त्रीका आकांक्षी भएपछि पार्टी अध्यक्ष माधव कुमार नेपाललाई अर्को चुनौती थपिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चर्को मतभेद भएपछि गतहप्ता मात्र दर्ता भएको माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)  को भागमा ६ देखि ७ वटासम्म मन्त्रालय पर्ने सम्भावना छ । तर एक दर्जन भन्दा धेरै सांसदहरु मन्त्री पदको अकांक्षी भएपछि अध्यक्ष नेपाललाई “खाउँ भने दिनभरीको शिकार नखाउँ भने कान्छा बाउको अनुहार” सरह भएको विश्लेषकहरुको भनाई छ ।

नाम नबताउने सर्तमा सो पार्टीका एकजना सांसद भन्छन्, “नेता बदुराम भूसाल र मुकुन्द न्यौपाने मध्ये कुनै एकजनाको नेतृत्वमा सरकारमा आफ्नो पार्टीको सहभागिता गराउने अध्यक्ष नेपालको योजना छ ।  तर भूसाल र न्यौपाने दुवै मन्त्रीका अकांक्षी देखिएपछि कसको नेतृत्वमा पठाउने भन्ने अझै पक्का भैसकेको छैन ।”

एमाले अध्यक्ष केपी ओलीसँग चर्को विवाद भएको समयमा सडक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, सरला यादव लगायतका अन्य सांसदहरू जुनसुकै हालतमा पनि मन्त्री बन्नै पर्छ भन्ने दाउमा हुनुहुन्छ । जसले अध्यक्ष नेपाललाई झनै समस्या पारिदिएको छ ।

सांसदहरू जीवनराम श्रेष्ठ, निरादेवी जैरु, प्रेमबहादुर आले, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन र कृष्णकुमार श्रेष्ठ, कतिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, बिना बुढाथोकी, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्वकर्मा, शान्तिकुमारी अधिकारी पनि मन्त्री कसरी हुन सकिएला भनि मौका हेरिरहनु भएको छ । यस अवस्थामा अध्यक्ष नेपालले पार्टीको सचेतक, संसदीय समितिको सभापति, उपसभामुख लगायतका विभिन्न पदहरुमा सांसदहरुलाई जिम्मेवारी दिने योजना बनाईरहनु भएको छ । श्रोत भन्छ, अध्यक्ष नेपालले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग संसदको उपसभामुख आफ्नो पार्टीले पाउनु पर्ने माग राख्नु भएको छ ।

Facebook Comments