Wed. Dec 25th, 2024

जसपा विभाजन होइन, शुद्धीकरण भएको हो : उपेन्द्र यादव

काठमाण्डौं, २०७८ भदौं ११ गते शुक्रबार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजन नभइ शुद्धीकरण भएको बताउनुभएको छ । पार्टीले आज शुक्रवार जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै अध्यक्ष यादवले केही व्यक्तिले पार्टी छाड्दैमा विभाजन भएको भन्न नमिल्ने दाबी गर्नुभयो ।

उहाँले आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई समाप्त गर्दै देशमा प्रतिगमन लाद्न चाहने केपी ओलीको मतियार बनेकाहरूबाट नागरिकले हिसाब लिने बताउनुभयो । अध्यक्ष यादवले भन्नुभयाे, संविधानमा रहेका सकारात्मक पक्षहरूको रक्षा गर्दै संविधान संशोधनमार्फत नकारात्मक पक्षलाई विस्थापन गर्नु नै जसपाको मूल कार्यभार हाे । यसका लागि मधेशी, आदिवासी , जनजाति, दलित महिला, मुस्लिमलगायतका शोषित वर्ग जसपाको झण्डामुनि गोलबद्ध हुन्छन् ।

कार्यक्रममा जसपाका वरिष्ठ नेता अशोक राईले देशका पुराना पार्टीहरू समतामूलक समाज निर्माणको कार्यदिशाबाट भागेका कारण जसपाको जन्म भएको उल्लेख गर्नुभयो । देशमा सामाजिक, आर्थिक मात्र नभइ कानुनी विभेदसमेत कायम रहेकाले जसपा ती सबै विभेद अन्त्य गर्दै समतामूलक समाज निर्माणमा अग्रसर भएको उहाँको तर्क थियो ।

मधेश प्रदेश समितिका अध्यक्ष विजयकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारिणी समिति सदस्य महेन्द्रराय यादव, रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, रामनरेश राय, नवलकिशोर साह, गजाधर यादव, मनिष सुमन, जनकपुर उपमहानगरका मेयर लालकिशोर साहलगायतले मन्तव्य राख्नुभएको थियो ।

पार्टी सुदृढीकरण, सङ्गठन विस्तार एवम् जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो । उज्यालो अनलाईन

Facebook Comments