Thu. May 2nd, 2024

ब्रिटिश मन्त्रीको पत्रपछि ब्रिटिश गोर्खा सैनिकको आमरण अनशन अन्त्य

काठमाण्डौं, २०७८ भदौं ४ गते शुक्रबार । विगत १३ दिनदेखि लन्डनस्थित ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै समान अधिकारको माग गर्दै आमरण अनशनरत भूतपूर्व गोर्खा सैनिकहरूले आफ्नो सत्याग्रह अन्त्य गरेका छन्।

ब्रिटिश सरकारका एकजना मन्त्रीले पत्र लेख्दै सन् २०२१ डिसेम्बरमा भूतपूर्व गोर्खा सैनिकहरूको मागबारे नेपाल सरकारसँग वार्ता गर्न ब्रिटिश सरकार तयार रहेको जनाएपछि उनीहरूले अनशन तोडेका हुन्।

भूतपूर्व सैनिक मामिला हेर्ने ब्रिटिश राज्यमन्त्री लियो डकर्टी तथा ब्रिटेनका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले तीन जना गोर्खा अभियन्ताहरू ज्ञानराज राई, धन गुरुङ र पुष्प राना घलेलाई जुस पिलाएर अनशन अन्त्य गराउनु भएको हो ।

बिहीवार अनशन अन्त्य गराउने क्रममा डकर्टीले राजदूत रेग्मीलाई लेखेको पत्र पढेर सुनाइएको थियो। उक्त पत्रमा ब्रिटिश सरकार भूतपूर्व गोर्खा सैनिकका मागबारे छलफल गर्न नेपाल सरकार, ब्रिटिश सरकार तथा गोर्खा प्रतिनिधि सम्मिलित समिति गठन गर्न सहमत भएको उल्लेख छ।

पत्रमा ८ सेप्टेम्बर २०२१ का दिन ब्रिटिश रक्षामन्त्री बेन वालेस तथा राज्यमन्त्री डकर्टीले राजदूत रेग्मीसँग एउटा तयारी बैठक गर्ने र आउँदो डिसेम्बर २०२१ देखि औपचारिक वार्ता सुरु हुने उल्लेख छ। पत्रमा भूतपूर्व गोर्खा सैनिकहरूका सबै चासोहरूको दीर्घकालीन समाधान खोज्न वार्ता केन्द्रित हुने पनि उल्लेख छ।

सन् १९९७ भन्दा पहिले सेवा निवृत्त भएका गोर्खा सैनिकहरूलाई ब्रिटिश सैनिकसरह समान पेन्सनको माग गर्दै गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिसँग आबद्ध तीन जना अभियानकर्मीले गत अगस्ट ७ तारिखदेखि आमरण अनशन सुरु गरेका थिए।

उनीहरूको आन्दोलनमा ब्रिटेनस्थित नेपाली सङ्घसंस्था र ब्रिटिश सांसदहरूले पनि समर्थन जनाएका थिए। यसअघि आमरण अनशन गरिरहेका भूतपूर्व गोर्खा सैनिकहरूको स्वास्थ्य स्थिति बिग्रँदै गएपछि चिन्ता व्यक्त गरिएको थियो।

मङ्गलबार अचानक स्वास्थ्य अवस्था बिग्रेपछि आमरण अनशनमा बसेका भूतपूर्व गोर्खा सैनिक, धन गुरुङलाई अस्पताल लगिएको थियो।

उहाँको स्वास्थ्यमा केही सुधार आएपछि बुधवारदेखि उहाँ पुनः अनशनमा बस्नु भएको थियो । अनशनमा बस्नु भएका अभियानकर्मी ज्ञानराज राई र पुष्पा राना घलेको स्वास्थ्य पनि कमजोर हुँदै गएको बताइएको थियो। बीबीसी

Facebook Comments