Thu. May 2nd, 2024

‘अमेरिकी सेना फिर्ती समयसीमापछि पनि रहन सक्छ’

काठमाण्डौं, २०७८ भदौं ३ गते बिहीबार । राष्ट्रपति जोइ बाइडेनले अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ती समयसीमापछि पनि रहन सक्ने बताउनुभएको छ । तालिबान भने काबुल अन्तर्राष्ट्रिय विमानस्थल रिक्त गराएर नियन्त्रणमा लिन आतुर रहेको बेला राष्ट्रपति बाइडेनको यस्तो भनाई आएको हो ।

राष्ट्रपति बाइडेनले अगष्ट महिनको अन्त्यसम्म अमेरिकी सेना बाहिरिने चाहेपनि अफगानिस्तानमा अझै १५ हजार अमेरिकी नागरिक रहेका छन् । पश्चिमा राष्ट्रहरुले भने आ आफ्नो नागरिक र सेनासँग काम गरेका अफगानलाई ल्याउने कार्यमा तीब्रता दिएका छन् । अमेरिकाले भने अमेरिकीसँगै ५० हजारदेखि ६५ हजार अफगानलाई ल्याउने प्रयास गर्दैछ । जसमध्ये अधिकांश अमेरिकी सेनाका लागि बिगत्मा अनुवादकको काम गरेकाहरु छन् ।

हालसम्म अमेरिकाले पाँच हजार २०० जनालाई फिर्ता ल्याएको छ । जसमध्ये दुई हजार जना गएको चौबीस घण्टामा फर्किएका छन् । पेन्टागनले भने फिर्ता ल्याउने कार्यलाई तेज बनाउँदै दैनिक नौ हजारसम्म पुर्याउन लागेको जनाएको छ ।
तालिबानले गत् आइतबार काबुलमा प्रबेश गरेपछि अमेरिकाले बर्हिगमनलाई तीब्रता दिएको छ । यद्दपी बर्हिगमन अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन् । राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलभित्र करिब चार हजार पाँच सय अमेरिकी सेना परिचालन गरिएको छ । तर बाहिर तालिबान लडाकूको कडा घेरा बनाएको छ ।

एबीसी समाचारसँगको अन्र्तवार्तामा राष्ट्रपति बाइडेनले अमेरिकी गुप्तचरको प्रतिवेदनमा आधारित रहेर तालिबानले यति छिट्टै अफगानिस्तान नियन्त्रणमा लिने अस्वभाविक लागेकोले फिर्तीमा ढिलाइ हुन पुगेको बताउनुभयो ।

आकाशमा उडिरहेको अमेरिकी वायु सेनाको विमानबाट अफगान नागरिक लडेकोबारे राखिएको जिज्ञासामा राष्ट्रपति बाइडेन चार पाँच दिन अघिको घटना भनेर जवाब टार्नुभयो । गोरखापत्र

Facebook Comments