Fri. May 17th, 2024

“म भागेको हैन”-अफगान राष्ट्रपति अशरफ गनी

काठमाण्डौं, २०७८ भदौं ३ गते बिहीबार । अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई) ले बताएको छ। गत आइतवार राजधानी काबुलतर्फ तालिबान अघि बढेपछि गनीले देश छाड्नु भएको हो । यूएईको विदेश मन्त्रालयले “मानवीयताका आधारमा” गनी र उहाँको परिवारलाई स्वागत गरिएको जनाएको छ।

बुधवार अबेर जारी गरेको एउटा भिडिओमा गनीले आफू देशबाट नभागेको दाबी गर्दै देशलाई “ठूलो दुर्घटना”बाट बचाउन देश छाडेको बताउनु भयो । “रक्तपात र अराजकतालाई रोक्न सकियोस् भनेर अहिलेका लागि म एमिरेट्समा छु,” उहाँले भन्नुभयो। “हाल म अफगानिस्तान फर्कनेबारे छलफलमा रहेको छु।”

फेसबुकबाट प्रत्यक्ष सम्बोधन गर्नुभएका उहाँले देश छाड्ने क्रममा ठूलो मात्रामा रकम लिएर गएको भन्ने हल्लालाई त्यो “पूर्ण रूपमा आधारहीन झुट”भएको भन्दै अस्वीकार गर्नुभयो ।

७२ वर्षीय गनीले भिडिओ सन्देशमा गनीले “आफूले जुत्ता पनि लगाउन नसक्ने अवस्थामा”आफूलाई राष्ट्रपति भवनबाट आफ्नो सुरक्षा टोलीले सुरक्षित रूपमा बाहिर निकालेको बताउनु भयो ।

“घटनाक्रम तीव्र रूपमा विकास भयो। म तालिबानसँग मिलेर एउटा समावेशी सरकार बनाउन चाहन्थेँ,”उहाँले भन्नुभयो । गनीले आफूले तालिबान र आफ्नो प्रशासनका अधिकारीबीच भएको वार्तालाई समर्थन गरेको जनाउँदै त्यस्तो भन्नुभएको हो ।  बीबीसी

Facebook Comments