Wed. May 15th, 2024

कोरोनाको बढ्दो संक्रमण रोक्न उपत्यकामा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

काठमाण्डौं, २०७८ साउन २६ गते मंगलबार । कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न काठमाडौं उपत्यकामा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

कोभिड-१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिने काठमाडौं जिल्ला प्रशासन कार्यालय जनाएको छ । अत्यावश्यक सवारीसाधन जुनसुकै वेला चल्न पाउने नियम रहेपनि अन्य सवारीसाधनहरु चल्नमा कडाई गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।

बैशाख १६ गतेदेखि कोरोना संक्रमणलाई मध्यनजर गर्दै लगाइएको निषेधाज्ञा झण्डै ४ महिनादेखि लम्बिरहेको छ । पछिल्लो पटक थप भएको निषेधाज्ञा यहि बुधबार सकिदैछ भने आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा अगामी ८ भदौसम्म जारी रहने गरि पुनः लम्व्याएको छ ।

Facebook Comments