Thu. May 16th, 2024

काठमाडौं महानगरपालिकाले भेरोसेल खोप दोस्रो मात्राको लागि ३२ वटै वडामा खोप केन्द्र तोक्यो

काठमाण्डौं, २०७८ साउन २२ गते शुक्रबार । काठमाण्डौ महानगरपालिकाले महानगरका ३२ वटै वडामा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन खोप केन्द्रको व्यवस्था गरेको छ । सो महानगरकाका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने प्रावधान राखिएको छ । निर्धारण गरिएका सबै केन्द्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाइने छ । सो खोप आउँदो आइतबारसम्म सञ्चालन हुनेछ ।

यसअघि महानगरले १२ खोप केन्द्रमार्फत असार २९ देखि ३१ गतेसम्म खोप उपलब्ध गराएको थियो । पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले भीड कम गर्न सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको हो । अहिलेसम्म महानगरका ७२ हजार ६४४ जना कोरोनाबाट सङ्क्रमित भएकोमा ६८ हजार ७७१ निको भएका ५१०को मृत्यु भएको छ । यहाँ तीन हजार ३६३ जना सक्रिय सङ्क्रमित छन् ।

Facebook Comments