Tue. May 21st, 2024

कक्षा १२ को परीक्षा सुरक्षा मापदण्डबीच सञ्चालन गरिने

काठमाण्डौं, २०७८ साउन २१ गते बुहीबार । कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु मापदण्ड पालनामा आफूहरूसमेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सरकारले परीक्षा सञ्चालन गर्न आफूहरूलाई निर्देश गरेको र त्यसको कार्यान्वयन गराइने जानकारी दिनुभयो । परीक्षा स्थगित नहुनेसमेत बोर्डले स्पष्ट गरेको छ ।

एउटा बेन्चमा एकजना परीक्षार्थी
बोर्डले यस पटक कक्षा १२ को परीक्षामा एक बेन्च, एक विद्यार्थीको नीति लागू गराउनेछ । यसका साथै एउटा कक्षा कोठामा बढीमा २५ भन्दा बढी विद्यार्थी राखिनेछैन भने परीक्षा केन्द्रमा पनि एक दिनमा १५० भन्दा बढी विद्यार्थीलाई सहभागी नगराइने भएको छ । यसबाट परीक्षामा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन हुने अध्यक्ष पौडेल बताउनुहुन्छ । सबैभन्दा धेरै विद्यार्थी हुने अनिवार्य विषयका दिन उपपरीक्षा केन्द्र राख्न पाउने सुविधा बोर्डले परीक्षा केन्द्रहरूलाई दिएको छ । परीक्षा केन्द्र नजिकैको विद्यालय, कलेजमा उपपरीक्षा केन्द्र सञ्चालन गर्न सकिनेछ । केन्द्रमा विद्यार्थीको भीडभाड न्यून होस् भनेर यस खालको प्रबन्ध मिलाइएको बोर्डले जनाएको छ । यसका साथै परीक्षा केन्द्रमा मास्क, सेनिटाइजर अनिवार्य गराइनेछ भने विद्यार्थी, शिक्षकलाई हात धुने प्रबन्धसमेत मिलाउनुपर्नेछ ।

शङ्का लागे अलग्गै परीक्षा
विद्यार्थीलाई कोरोना भाइरसको कुनै शङ्का लागेको भए अलग्गै कोठामा राखेर परीक्षासमेत लिइनेछ । शङ्का लागेका विद्यार्थीलाई मात्र अलग्गै आइसोलेट गरेर परीक्षा लिइने जानकारी उहाँले दिनुभयो । विद्यार्थीले सङ्क्रमणकै कारण परीक्षा दिन नपाउने अवस्था भए नियमित परीक्षा सकिएपछि पुनः परीक्षा लिइनेछ । कोरोना लागेकै कारण पनि विद्यार्थी परीक्षाबाट वञ्चित हुनु नपर्ने उहाँले बताउनुभयो । यी विद्यार्थीको परीक्षाफल पनि नियमित विद्यार्थीसँग एकसाथ गरिनेछ । यसका साथै कोरोना लागेका कारण परीक्षा दिन नपाएका विद्यार्थीले होम सेन्टरबाटै परीक्षा दिनसमेत पाउनेछन् । अन्य विद्यालयमा परीक्षा दिन जान सम्भव नहुने भन्दै होम सेन्टरको व्यवस्था मिलाइएको हो । गोरखापत्र अनलाईन

Facebook Comments